आज विश्व बाघ दिवस, नेपालमा बाघ गणनाको नतिजा सार्वजनिक गरियो

रातोघर

 १३ श्रावण २०७९, शुक्रबार १२:२६  मा प्रकाशित
१९२ पाठक संख्या



आज २९औं अन्तर्राष्ट्रिय बाघ दिवस । चितवनसहित देशभर विभिन्न कार्यक्रमहरु गरि मनाईदै छ । यसपटक चितवन राष्ट्रिय निकुञ्जले सामान्य रुपमा बाघ दिवस मनाउन लागेको जनाएको छ ।

विशेष रुपमा वन तथा वातावरण मन्त्रालय अन्तरगत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा कार्यक्रम हुने भएपछि जिल्लामा सामान्य रुपमा कार्यक्रम मनाउन लागिएको हो । ‘यसपटक सामान्य भेटघाट र छलफल राखेका छौं, विभागमा विशेष कार्यक्रम भएकाले चिफ वार्डेनलगायत विशेष व्यक्तित्वहरु काठमाडौंमै कार्यक्रममा सहभागि हुन पुग्नु भएको छ’–चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले भने ।

नेपालमा पाइने पाटे बाघ विश्वका १३ देशमा पाइन्छ। विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो।

सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १ सय २१ लाई दोब्बरभन्दा पनि बढी २ सय ५० वयस्क बाघ पुर्‍याउने प्रतिबद्धता जनाएको थियो।
नेपालमा पछिल्लो गणना अनुसार बाघको सङ्ख्या २ सय ३५ पुगेको छ। जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए।

नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ। नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १ सय ९, सन् २००५ मा १ सय २६, सन् २००९ मा १ सय २१, सन् २०१३ मा १ सय ९८ रहेको विभागको तथ्याङ्क छ।

विश्व बाघ दिवसको अवसर पारेर आज (शुक्रबार) बाघको संख्या सार्वजनिक गरिएको छ । उक्त तथ्यांक अनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ । पछिल्लो ४ वर्षमा नेपालमा १२० बाघ थपिएर बाघको संख्या ३५५ गुगेको हो ।

सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् । पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् ।

Photo: WWF

Write your Comment