मधेश प्रदेश लागु औषधको अखडा बन्दै, युवाहरु कुलतमा फसीरहेको भन्दै डिआईजी मगर चिन्तीत

रातोघर

 १३ श्रावण २०७९, शुक्रबार १५:५४  मा प्रकाशित
५१५ पाठक संख्या



आर्थिक वर्ष २०७८/७९ भित्र प्रतिबन्धित लागु औषधसहित १ सय ७३ जना पक्राउ परेका छन् । मधेश प्रदेशका ८ वटै जिल्लाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले मात्रै लागु औषधसहित १ सय ७३ जनालाई पक्राउ गरेको हो ।

सोही अवधिभित्र ३५ ओटा सवारी साधन पनि लागु औषधसहित नियन्त्रणमा लिइएको छिन्नमस्ता बाहिनीका बाहिनीपति एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडामगरले जानकारी दिए ।

श्रावण २०७८ देखि असार २०७९ सम्मको अवधिमा मात्रै सशस्त्र प्रहरीले २ हजार ६६७.२५ किलोग्राम गाँजा बरामद गरेको छ । ३१.९२ किलोग्राम चरेस, १ सय ग्राम ७३ मिलिग्राम ब्राउन सुगर, ३ हजार ७२६ एम्पुल नर्फिन, ४ हजार ९३ एम्पुल डाईजोपाम, २ हजार ६४३ एम्पुल फेनार्गन, २५ हजार ९ सय ३३ पिस नाईट्रोभेट ट्याब्लेट, १ हजार ३६५ बोत्तल कोरेक्स, ८ पिस सिरिन्ज, ६६ पिस स्पाम र ५ हजार १२८ पिस अन्य लागु औषध सशस्त्र प्रहरीले बरामद गरेको छ ।

छिन्नमस्ता बाहिनी मातहतका गण तथा सुरक्षा बेस क्याम्पहरुबाट खटिएको सशस्त्र प्रहरीले ६० विघा, १७ कट्टा १० धुर जग्गामा लगाइएको गाँजा खेती फडानी गरेको छ । १ वर्षको अवधिमा यति ठूलो मात्रामा लागु औषध बरामद गरेकोमा डिआईजी मगरले चिन्ता व्यक्त गरेका छन् । यात्रा डेलीसँग कुराकानी गर्दै डिआईजी मगरले देशको नयाँ पुस्ताहरु लागु औषधको कुलतमा फस्नु दुर्भाग्य भएको बताए ।

भारतसँग खुला सिमाना जोडिएको मधेश प्रदेशसँगै अन्य जिल्लाहरुमा पनि लागु औषधको कुलतमा फस्नेहरुको संख्या बढ्दै गएको डिआईजी मगरको भनाई छ । जोश र जाँगरले भरिएको युवाहरुको जमात सिप सिकी ज्ञान आर्जन गरेर सकारात्मक क्षेत्रतर्फ सक्रिय हुनुपर्नेमा लागु औषधको कुलतमा फस्नुले देशको भविष्यमा ठूलो संकट आउन सक्ने उनको संकेत छ ।

मगरले यसतर्फ सञ्चारकर्मीदेखि समाजसेवी, नागरिक समाज, शिक्षक, बुद्धिजिवी, सुरक्षाकर्मी लगायतले तदारुकताका साथ लागुऔषधबारे सचेतना फैलाउनुपर्ने आवश्यक्ता औँल्याए । साथैसरकारले पनि विशेष योजना ल्याएर लागुऔषधको रोकथामतर्फ ध्यान दिनुपर्ने डिआईजी मगरको बुझाई छ ।

 

 

 

 

 

–यात्रा दैनिकबाट साभार

Write your Comment