श्रीमानद्वारा गर्भवती श्रीमतीको हत्या

रातोघर

 २७ श्रावण २०७९, शुक्रबार १३:५२  मा प्रकाशित
६४३ पाठक संख्या



वीरगन्ज महानगरपालिका वडा नं.– २३ इटियाहीमा श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेको छ । शुक्रबार बिहान इटियाही निवासी २६ वर्षीय दिनेशप्रसाद यादवले आफ्नी २३ वर्षीया श्रीमती प्रतिमाकुमारी यादवको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

बिहान तीन–चार बजेको समयमा घरमै श्रीमतीको हत्या गरेको आरोपमा दिनेशलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रह्लाद कार्कीले जानकारी दिनुभयो । घरबाटै पक्राउ परेका दिनेशले प्रहरीलाई दिएको बयान अनुसार श्रीमती प्रतिमाको अर्को केटासँग सम्बन्ध रहेको शंकाको आधारमा घाँटी थिचेर मारेको डिएसपी कार्कीले बताए ।

गत वर्षको वैशाखमा पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नं.– १ धोरे निवासी नरेश यादव की छोरी प्रतिमाकुमारीको दिनेशसँग हिन्दु परम्परा अनुसार मागी विवाह भएको थियो । प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाएर मृतक प्रतिमाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाउने तयारी गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । मृतक प्रतिमाको पाँच महिनाको गर्भ रहेको माइती पक्षले बताएका छन् ।

 

 

 

 

 

-तराई रिपोर्टबाट साभार

Write your Comment