बारामा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बल्यो बिजुली बत्ती,स्थानियमा खुशीको सिमानैं रहेन

रातोघर

 ९ आश्विन २०७९, आईतवार १५:०६  मा प्रकाशित
७८० पाठक संख्या



सिमरा । बाराको जीतपुर सिमरा–१६ टाँगियाबस्तीमा ४ दर्शक टाँगियाबस्तीमा ३५ वर्ष अघि जन्मेकी जुनु श्रेष्ठ शनिबार साँझ पहिलोपटक बिजुली बत्ती बाल्न पाउँदा निकै खुसी देखिइन् । ‘पहिला टुकी बाल्थ्यौँ, ४/५ वर्ष भयो सोलार बालेको । अहिले बिजुली बत्ती बाल्न पाउँदा हाम्रो खुसीको सीमा छैन,’ उनले भनिन् ।

प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको टाँगिया बस्तीमा ३० वर्षदेखि बस्दै आएकी डम्मरकुमारी राना पनि शनिबार साँझ पहिलोपटक बिजुली बाल्न पाउँदा खुसी छिन् । धेरै वर्ष टुकी बत्ती र पछिल्लो समय सोलर बत्तीको भरमा दैनिकी गुजारेकी राना र श्रेष्ठ जस्तै टाँगिया बस्तीका बासिन्दाले शनिबारदेखि बिजुली बत्तीको उज्यालोमा बस्न पाएका छन् ।

‘१६/१७ वर्ष टुकी नै बालेँ, त्यसपछि सोलार आयो । अहिले बिजुली बत्ती आयो, स्राहै खुसी लागेको छ,’ शारीरिक रुपमा अशक्त रहेकी डम्मरकुमारी रानाले भनिन् । उनी टाँगिया बस्तीको चोकमै १८ वर्षदेखि कपडा सिलाउने काम गर्दै आएकी छन् । ‘टुकी बालेर बस्नुपर्दा जंगली जनावर, चोरको डर हुन्थ्यो, त्यो हेरेर अहिले त धेरै सुख भएको छ,’ उनले भनिन् ।

ऊर्जा मन्त्रालयको २ करोड ३४ लाख ४२ हजार लागतमा विद्युत प्राधिकरण सिमराले प्रस्तावित विमानस्थलको टाँगिया बस्तीमा विद्युतीकरण गरेको हो । सो क्षेत्रमा प्राधिकरणले ११ के.भी.को ७ किलोमिटर र एलटी लाईन (पोलमा २ लाईनको तार भएको) करिव २० किलोमिटर तार टाँगेको छ । प्राधिकरणले सो क्षेत्रमा पोल गाड्ने, ट्रान्सफरमर जडान गर्ने लगायत विद्युतीकरणको काम २०७८ चैतदेखि सुरु गरेर भदौ अन्तिम साता सम्पन्न गरेको हो ।

विद्युतीकरणको सम्पूर्ण काम सम्पन्न भएपछि बिजुली बाल्ने कार्यक्रम उद्घाटन गर्न ऊर्जा मन्त्री पम्फा भुषाल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आउने भनिए पनि वन मन्त्रालय र प्राधिकरण बिचको विवादका कारण बारा क्षेत्र नं ३ का संघीय सांसद रामबाबु यादवले उद्घाटन गरे ।

राष्ट्रिय वन क्षेत्रभित्र कानुन विपरीत विद्युतीकरण गरेको भन्दै वन मन्त्रालय र डिभिजन वन कार्यालय बाराले आपत्ति जनाउँदै आएका थिए । दुई सरकारी निकायबीच पत्राचारको माध्यमबाट काम रोक्न खोज्ने र काम अगाडि बढाउन खोज्ने जुहारीका बिच संघीय सांसद यादवले स्थलगत रुपमा आफै उपस्थित भएर टाँगिया बस्तीमा पोल गाड्ने काम धमाधम गरेका थिए । टाँगिया बस्तीमा विद्युतीकरणको चर्चा धेरै वर्षदेखि चले पनि सांसद यादवले विद्युत् प्राधिकरण सिमरा शाखाका प्रमुख रामु श्रेष्ठको सहयोगमा बिजुली बाल्ने काम उद्घाटन गरेका हुन् ।

प्राधिकरणले टाँगिया बस्तीका एक हजार ४७६ घरधुरीमध्ये शनिबारसम्म ४५० घरधुरीमा मिटर जडान गरिसकेको छ भने बाँकी घरधुरीमा केही दिनभित्र जडान हुने जनाइएको छ । जीतपुर सिमरा–१६, टाँगिया बस्तीकी ६० वर्षीय हिरामाया जिम्बा धेरै वर्षपछि उज्यालोमा बस्न पाएकोमा खुसी लागेको बताउँछिन् ।

‘३० वर्षको उमेरमा टाँगिया बस्ती आउँदा यहाँ बाक्लो जंगल थियो । बाघ, भालु, जंगली हात्तीको त्रास,मान्छेको पनि डर थियो, एक घन्टा हिँडेर खोलामा पुगेर पानी ल्याउनुपर्ने बाध्यता थियो,’ उनले भनिन्– ‘मट्टीतेल पनि जुटाउन नसकेर सुकेको वनमारा झारको टुकी बाल्नुपर्ने अवस्था थियो ।’ पछि मट्टीतेल जुटाएर गुजारा चलाउने गरेको र त्यसपछि दु:ख सुख गरेर सोलार बत्ती बाल्न पाएको भन्दै उनले अहिले बिजुली बत्ती बाल्न पाएकोमा धेरै खुसी लागेको सुनाइन् ।

‘अब बसोबासको व्यवस्था हुनुपर्छ’

बारा क्षेत्र नं ३ का संघीय सांसद रामबाबु यादवले टाँगिया बस्तीका बासिन्दाको बसोबासको व्यवस्था सुनिश्चित हुनुपर्ने बताएका छन् । शनिबार साँझ बिजुली बत्ती उद्घाटन गर्दै सांसद यादवले स्थानीयहरुको बसोबासको व्यवस्था नगरी सरकारले देखावटी रुपमा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गरे आफू त्यसको विपक्षमा उभिने बताए ।

‘असोज ५ गतेका लागि सम्माननीय प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यासको कार्यक्रम तय हुँदै थियो, मैले हुँदैन त्यहाँको जनताको व्यवस्थापन पहिला हुनुपर्छ,घरजग्गा,विद्युत, पानी कति दिनमा व्यवस्थापन गरिदिनुहुन्छ, त्यसको टुङ्गो लगाएरमात्रै ठेक्का गर्नुस् भनेपछि उहाँले पनि मनन् गर्न बाध्य हुनुभयो,’ संघीय सांसद यादवले भने ।

जनताको आवश्यकता पूरा गरेर कहीँ बसोबासको व्यवस्थापन गर्दा जनताले विरोध नगर्ने तर घरबाट निकालेर रोडमै फालेर मानवजस्तो व्यवहार नगर्दा आफूले समेत विरोध गर्ने बताएपछि टाँगिया बस्तीमा बिजुली बाल्ने काम सफल भएको उनको भनाइ छ ।

Write your Comment