५० लाखको तेल चोरी गर्ने समूह पक्राउ

रातोघर

 २०७९ कार्तिक ७, सोमबार  मा प्रकाशित
६४१ पाठक संख्या


 करिब ५० लाख मूल्य बराबरको तेल ट्रकसहित बीच बाटोमै बेपत्ता पारेर बिक्री गर्ने समूहलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

परवानीपुर ५ बहुअरीस्थित मनोकामना आयल फुड प्रोसेसिङबाट २० हजार चार सय ७६ लिटर तेल लोड गरेर सिन्धुलीका लागि हिडेको ट्रक लुकाएर तेल बिक्री गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने ट्रकका चालकसहित चार जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार ट्रक चालक नुवाकोट शिवपुरी गाँउपालिका १ घर भई काठमाण्डौ बस्ने सुकमान नामाङ, रौतहट राजपुर नगरपालिका ६ घर भई गौर नगरपालिका १ बस्ने रमेश कुमार, रौतहट बृन्दावन नगरपालिका ६ बस्ने शेख कलाम, बृन्दावन नगरपालिका ८ बस्ने बैधनाथ साह तेलीलाई पक्राउ गरेको हो ।

असोज २८ गते परवानीपुरबाट प्र २–०३–००१ ख ४८१२ नम्बरको ट्रकमा तेल लोेड गरेर सिन्धुलीको कमलामाईस्थित रोबिन सप्लायर्समा पु¥याउनुपर्ने भएपनि उक्त ट्रक बीच बाटोबाटै सम्पर्कविहिन भएपछि मनोकामना आयल फुड प्रोसेसिङले प्रहरीमा उजुरी दिएको थियो । उक्त उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले कार्तिक ४ गते ट्रक चालक र त्यसपछि अन्यलाई पक्राउ गरेको हो ।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले फोन रेकर्डका आधारमा ट्रक चालकलाई पक्राउ गरेपछि घटनामा संलग्न रहेका अन्यलाई पक्राउ गर्न सफल भएको जानकारी दिए । वीरगन्जस्थित अंजनी क्यारियर्सबाट ढुवानी भएको उक्त ट्रक कार्तिक ५ गते बाराको सिम्रौनगढ नगरपालिकाको बजारमा वेवारिसे अवस्थामा फेला परेको थियो ।

सिन्धुली नगएर बीचमा बेपत्ता भएको उक्त ट्रकको तेल भने रौतहटको गौर नगरपालिका वडा नं. १ स्थित रमेश कुमारले भण्डारण गरेको अवस्थामा प्रहरीले फेला पारेको छ । प्रहरीले उक्त स्थानबाट तीन हजार एक सय ७० लिटर तेल र एक सय ५९ थान खाली कार्टुन फेला पारेको हो ।

प्रहरी उपरीक्षक बोगटीले प्राप्त प्रमाणका आधारमा तेल चोरी गरी बिक्री गरेको पाइएकाले चार जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भईरहेको जानकारी दिएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban