५० लाखको तेल चोरी गर्ने समूह पक्राउ

रातोघर

 ७ कार्तिक २०७९, सोमबार १३:०४  मा प्रकाशित
४७१ पाठक संख्या



 करिब ५० लाख मूल्य बराबरको तेल ट्रकसहित बीच बाटोमै बेपत्ता पारेर बिक्री गर्ने समूहलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

परवानीपुर ५ बहुअरीस्थित मनोकामना आयल फुड प्रोसेसिङबाट २० हजार चार सय ७६ लिटर तेल लोड गरेर सिन्धुलीका लागि हिडेको ट्रक लुकाएर तेल बिक्री गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने ट्रकका चालकसहित चार जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार ट्रक चालक नुवाकोट शिवपुरी गाँउपालिका १ घर भई काठमाण्डौ बस्ने सुकमान नामाङ, रौतहट राजपुर नगरपालिका ६ घर भई गौर नगरपालिका १ बस्ने रमेश कुमार, रौतहट बृन्दावन नगरपालिका ६ बस्ने शेख कलाम, बृन्दावन नगरपालिका ८ बस्ने बैधनाथ साह तेलीलाई पक्राउ गरेको हो ।

असोज २८ गते परवानीपुरबाट प्र २–०३–००१ ख ४८१२ नम्बरको ट्रकमा तेल लोेड गरेर सिन्धुलीको कमलामाईस्थित रोबिन सप्लायर्समा पु¥याउनुपर्ने भएपनि उक्त ट्रक बीच बाटोबाटै सम्पर्कविहिन भएपछि मनोकामना आयल फुड प्रोसेसिङले प्रहरीमा उजुरी दिएको थियो । उक्त उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले कार्तिक ४ गते ट्रक चालक र त्यसपछि अन्यलाई पक्राउ गरेको हो ।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले फोन रेकर्डका आधारमा ट्रक चालकलाई पक्राउ गरेपछि घटनामा संलग्न रहेका अन्यलाई पक्राउ गर्न सफल भएको जानकारी दिए । वीरगन्जस्थित अंजनी क्यारियर्सबाट ढुवानी भएको उक्त ट्रक कार्तिक ५ गते बाराको सिम्रौनगढ नगरपालिकाको बजारमा वेवारिसे अवस्थामा फेला परेको थियो ।

सिन्धुली नगएर बीचमा बेपत्ता भएको उक्त ट्रकको तेल भने रौतहटको गौर नगरपालिका वडा नं. १ स्थित रमेश कुमारले भण्डारण गरेको अवस्थामा प्रहरीले फेला पारेको छ । प्रहरीले उक्त स्थानबाट तीन हजार एक सय ७० लिटर तेल र एक सय ५९ थान खाली कार्टुन फेला पारेको हो ।

प्रहरी उपरीक्षक बोगटीले प्राप्त प्रमाणका आधारमा तेल चोरी गरी बिक्री गरेको पाइएकाले चार जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भईरहेको जानकारी दिएका छन् ।

Write your Comment