जलहरी प्रकरण : सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने तीन दलबीच सहमति

रातोघर

 २०८० जेष्ठ १३, शनिबार  मा प्रकाशित
६४३ पाठक संख्या


प्रतिनिधि सभामा उठेको पशुपतिनाथको जलहरीका विवादमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्ने भएका छन् । शनिवार सिंहदरबारमा भएको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका नेताहरूसँगको  छलफलमा प्रधानमन्त्री प्रचण्डले जलहरी विवादका विषयमा संसद्‍मा सम्बोधन गर्ने सहमति भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली नजोडिने बताएका थिए ।

‘सरकारको काम बजेट छुट्याइदिने मात्रै हो । भ्रम सिर्जना हुनेगरी तथ्यहीन र आधारहीन अभिव्यक्ति दिनु गलत भएको हो,’ गिरीले भने,  यसलाई गलत भनेरै जानुपर्छ भन्ने अण्डरस्ट्याण्डिङ बनेको छ । उहाँ (प्रधानमन्त्री)ले यसबारे संसद्मा सम्बोधन गर्नुहुनेछ ।’

साथै माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने पनि समझदारी भएको गिरीले जानकारी दिए । आगामी दिनमा पनि यस्ता तथ्यहीन आरोपहरू संसदमा नलगाउन प्रधानमन्त्रीले सांसदहरूरुलाई अनुरोध गर्ने सहमति भएको गिरीले बताए ।

यससँगै सदनको अवरोध हट्ने भएको छ । तीन दलबीच सहमति भएसँगै एमालेले संसद्मा अवरोध नगर्ने बताएको छ ।

प्रतिनिधि सभा बैठक आज साँझ ४ बजे बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

शुक्रवारको बैठकमा पशुपतिनाथमा हालिएको सुनको जलहरीमा भ्रष्टाचार भएको आरोप लागेपछि एमालेले बैठक अवरुद्ध गरेको थियो ।

यसअघि गत बुधवारको बैठकमा बोल्ने क्रममा माओवादी सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पशुपतिमा सुन भनेर पित्तलको जलहरी राखेको आरोप लगाएका थिए ।

तीन दलको बैठकमा प्रधानमन्त्रीप्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक, एमाले अध्यक्ष केपी ओली र प्रमुख सचेतक पदम गिरी,  माओवादी वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।

-lokantar

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban