

वीरगञ्ज । पर्साका ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा पङ्खाको सुविधा नहुँदा विद्यार्थीको स्वास्थ्यमा असर पर्न थालेको छ । पछिल्लो समय बढेको गर्मीमा कक्षा कोठामा पङ्खा नहुँदा विद्यार्थीहरु बेहोस हुन् थालेका हुन् ।
पर्सा, बारालगायतका जिल्लामा पछिल्लो एक साता यता गार्मी अत्याधिक बढेको छ । दिउँसोको समयमा यसक्षेत्रमा तापक्रम बढेर ४० देखि ४२ डिग्रि सेल्सियससम्म पुग्ने गरेको छ । जसका कारण जनजीवन निकै प्रभावित भएको छ ।
बुधबार पनि पर्साको ग्रामीण भेगमा रहेको सामुदायिक विद्यालयमा एकजना छात्रा गर्मीका कारण बेहोस भइन् । पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ भतौडास्थित वनदेवी आधारभूत विद्यालयमा बुधबार छात्रा कक्षाकोठामै बेहोस भएकी थिइन् ।
कक्षा ४ मा पढ्ने साहबुन नेशा अत्याधिक गर्मीका कारण बुधबार बिहान ९ बजे कक्षाकोठामै बेहोस भएको विद्यालयका प्रधानाध्यापक सुभाष प्रसाद दासले बताए । उनलाई उपचारका लागि वीरगञ्जको अस्पतालमा पठाइएको दासले जानकारी दिए ।
पटेर्वासुगौली गाउँपालिकाका शिक्षा शाखा प्रमुख सोलेन्द्र पंजियारले विद्यालयमा पङ्खाको अभाव नरहेको दावी गरे । विद्युत जडान भइसकेका सबै विद्यालयमा पङ्खा जडान भइसकेको बताउँदै उनले वडा नम्बर ३ रामपुरस्थित एक विद्यालयमा विद्युत जडानको काम जारी रहेको जानकारी दिए । विद्युत जडानको काम भएलगत्तै पङ्खा जडानको काम पनि गरिने उनको भनाई छ ।
गाउँपालिकाका ३ वटा मावि, ४ वटा निमावी र प्रावि गरेर २४ वटै सामुदायिक विद्यालयमा पंखा जडानको काम भएको उनको दावी छ । गर्मी बढेसँगै विद्यालयमा विदा दिनुपर्ने अभिभावकले आवाज उठाएका छन् ।





Write your Comment