

वीरगञ्ज । मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन् । अब विस्तारै मौसम बदली हुने र गर्मीबाट राहत मिल्ने मौसमविद्को अनुमान छ । तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान उनीहरुले गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ ।
‘त्यसैले तराईका भू–भागहरूको अधिकतम तापक्रम नबढ्ने देखिन्छ,’ महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा लेखिएको छ, ‘कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।’
वरिष्ठ मौसमविद शान्ति कँडेलका अनुसार अब क्रमशः बदलीको दिन बढ्ने छ र वर्षा पनि हुने छ । त्यसकारण तापक्रम पनि घट्ने हुँदा गर्मीबाट राहत मिल्ने छ ।





Write your Comment