बजेटपछि कुन गाडी महँगियो, कुन सस्तियो? (मूल्यसहित)

टेस्लाको मूल्य एकैपटक ४१ लाख रूपैयाँ घट्यो

रातोघर

 २०८० जेष्ठ ३१, बुधबार  मा प्रकाशित
४१९ पाठक संख्या


सरकारले विद्युतीय गाडीमा लाग्दै आएको कर परिवर्तन गरेसँगै कम्पनीहरूले गाडीको मूल्य समायोजन गरेको छ।

बजारमा उपलब्ध विभिन्न चार पांग्रेमध्ये कुनैको मूल्य बढेको छ कुनै मोडलको घटेको छ। केही कम्पनीले भने पुरानै मूल्यमा गाडी बिक्री गरिरहेका छन्।

बिवाइडीको अट्टो-३, एमजी जेडएस इभी, हुन्डाई कोना जस्ता मोडलको मूल्य बढ्दा हुन्डाईकै आयोनिक-५, टेस्लाको मोडल ३ र वाईको मूल्य घटेको छ। निसानको विद्युतीय लिफको मूल्य भने यथावत छ। त्यस्तै हेन्रीको मिनकार र वुलिङको एयर इभीको मूल्यमा पनि कुनै परिवर्तन गरिएको छैन।

सरकारले आर्थिक वर्ष २०८०/८१ देखि ५० किलोवाटसम्मका निजी प्रयोजनका विद्युतीय सवारी साधनमा १० प्रतिशत भन्सार तोकेको छ। यसअघि १०० किलोवाटसम्मका विद्युतीय गाडीमा १० प्रतिशत नै भन्सार थियो।

बजेटले ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका विद्युतीय गाडीमा पाँच प्रतिशत बढाएर १५ प्रतिशत भन्सार तोकेको छ। त्यस्तै यी गाडीमा दश प्रतिशत अन्तः शुल्क पनि लाग्छ।

५१ किलोवाटदेखि १०० किलोवाटसम्मका गाडीमा भन्सार दर बढे पनि १०० किलोवाटमाथिका गाडीमा भने घटेको छ। १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका लागि ३० प्रतिशत भन्सार भएकोमा घटाएर २० प्रतिशत बनाइएको छ। यसको अन्तः शुल्क पनि १० प्रतिशत कम गरेर २० प्रतिशत बनाइएको छ।

त्यस्तै २०१ किलोवाटदेखि ३०० किलोवाटसम्म मोटर क्षमता भएको विद्युतीय गाडिमा ४० प्रतिशत भन्सार थियो। अहिले ३५ प्रतिशत बनाइएको छ। यसको अन्तः शुल्क भने यथावत्, ४५ प्रतिशत छ। ३०१ किलोवाटभन्दा माथि लाग्ने भन्सार र अन्तः शुल्क पनि यथावत छ। अर्थात् ६० प्रतिशत।

नयाँ कर दर तोकिएसँगै गाडीको मूल्यमा परिवर्तन भएको हो।

१.  हुन्डाई

हुन्डाईको विद्युतीय गाडी आयोनिक-५ को मूल्य एकैपटक १४ लाखले घटेको छ। नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक-५ को मूल्य एक करोड दुई लाख ९६ हजार रूपैयाँ तोकको छ। यसभन्दा अघि यो गाडीको मूल्य एक करोड १६ लाख ९६ हजार रूपैयाँ थियो। आयोनिक-५ १२५ किलोवाट क्षमताको हो। हालसम्म कम्पनीले ५० वटा भन्दा धेरै आयोनिक-५ बिक्री गरिसकेको छ।

हुन्डाईको कोनाको मूल्य भने बढेको छ। ३९.२ किलोवाटको लिथियम-आयन पोलिबर ब्याट्री भएको कोनाको मूल्य ४० हजार रूपैयाँ बढेर ६४ लाख ९६ हजार तोकिएको छ। बजारमा कोना सार्वजनिक भएदेखि हालसम्म करिब ८०० गाडी बिक्री भइसकेको कम्पनीको भनाइ छ।

२. टेस्ला

नेपाली बजारमा टेस्लाको आधिकारिक वितरक अरिट इन्टरनेसनल प्रालिले बिक्री गरिरहेको मोडलहरूमा मूल्य परिवर्तन गरेको छ। हाल बजारमा टेस्लाको मोडल ३ र मोडल वाई गरी दुई मोडलको गाडी उपलब्ध छन्।

बजेट अघि ५४  किलोवाट आवरको ब्याट्री र १९८ किलोवाट मोटर पावर जडित मोडल ३ को मूल्य एक करोड ५५ लाख रहेकोमा बजेटपछि यो गाडीको मूल्य एक करोड ३५ लाख तोकिएको छ। यो मोडलले एक पटकको पूरा चार्जमा ४५० किलोमिटरसम्म रेन्ज दिन्छ।

त्यस्तै मोडल वाई स्ट्यान्डर्ड र लङ रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध छन्। स्ट्यान्डर्डमा २०९ किलोवाट मोटर पावर र ५४ किलोवाट आवरको ब्याट्री प्याक छ जसको नयाँ मूल्य एक करोड ८९ लाख तोकिएको छ। यसले एक पटकको पूरा चार्जमा ४०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।

लङ रेन्जको मोडल वाईमा भने २९१ किलोवाटको मोटर र ७५ किलोवाट आवरको ब्याट्री छ। यसको मूल्य बजेट अघि दुई करोड ४० लाख रहेकोमा नयाँ मूल्य एक करोड ९९ लाख तोकिएको छ। यो भेरियन्टको मूल्य एकैपटक ४१ लाख घटाएको छ। यसले एक पटकको पूरा चार्जमा ५२५ किलोमिटर रेन्ज दिन्छ।

कम्पनीले हालसम्म बजारमा ४० भन्दा बढी गाडी बिक्री गरिसकेको जनाएको छ। भविष्यमा नयाँ मोडल समेत सार्वजनिक गर्ने तयारीमा कम्पनी छ।

३. बिवाइडी

हाल बजारमा बिवाइडी अट्टो ३ को दुई भेरियन्‍ट उपलब्ध छन्। जसमा १०० किलोवाट मोटर पावर र ६४.४८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक भएको अट्टो ३ को मूल्य ६५ लाख ८८ हजार रुपैयाँ छ। यसको मूल्य ९८ हजार रूपैयाँ बढाइएको हो। यसभन्दा अघि ६४ लाख ९० हजार थियो।

१५० किलोवाट मोटर पावर र ६४.४८ किलोवाट आवर ब्याट्री प्याकको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसभन्दा अघि यो मोडलको मूल्य ८९ लाख ९० हजार थियो।

कम्पनीले अट्टो ३ को नयाँ भेरियन्ट १०० किलोवाट मोटर पावर र ५० किलोवाट आवर ब्याट्री प्याक भएको नयाँ भेरियन्ट पनि सार्वजनिक गर्ने तयारीमा छ। यो भेरियन्टको बजार मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

यसबाहेक कम्पनीले ई-६ र एम-३ बिक्री गरिरहेको छ। एम-३ मा ४४.९ किलोवाटको लिथियन आयोन ब्याट्री दिइएको छ। जसले १०० किलोवाट पावर र १८० एनएम टर्क जेनेरेट गर्छ। यो गाडीको मूल्य ४६ लाख ९५ हजार तोकिएको छ।

त्यस्तै ई-६ मा भने ७१.७ किलोवाटको लिथियम आयन ब्याट्री प्याक छ। यसले एक पटकको पूरा चार्जमा ५२२ किलोमिटर माइलेज दिन्छ। यसको हालको बजार मूल्य ५९ लाख रूपैयाँ तोकिएको छ। तर कम्पनीका अनुसार यी मोडलहरूको मूल्य पनि परिवर्तन हुने सम्भावना उच्च छ। छिट्टै नयाँ मूल्य सूची सार्वजनिक गरिनेछ। बजारमा बिवाइडीको करिब ३०० विद्युतीय चार पांग्रे गुडिरहेको छ।

४. एमजी 

एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स हो। एमजीको ९९ किलोवाट क्षमताको मोटर पावर भएको जेडएस इभी डिलक्सको मूल्य ५० हजार रुपैयाँ बढाइएको छ। बजेट अघि एमजी जेडएस इभीको मूल्य ५२ लाख ४९ हजार रहेकोमा नयाँ मूल्य ५२ लाख ९९ हजार तोकिएको छ।

५. नेटा

चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले नेटा भीको मूल्य एक लाख रुपैयाँ बढाएको छ। ७० किलोवाटको मोटर र ३८.५ किलोवाटको ब्याट्री प्याक भएको नेटा भीको नयाँ बजार मूल्य ३८ लाख ९९ हजार तोकिएको छ। यसभन्दा अघि यो गाडीको मूल्य ३७ लाख ९९ हजार तोकिएको थियो।

कम्पनीले छिट्टै नेटा यू प्रो सार्वजनिक गर्ने तयारीमा छ। यसको मूल्य भने हालसम्म सार्वजनिक गरेको छैन।

कम्पनीको नाम मोडल नयाँ मूल्य बजेट अघिको मूल्य बढेको/घटेको
हुन्डाई आयोनिक-५ १ करोड २ लाख ९६ हजार १ करोड १६ लाख ९६ हजार घटेको
कोना ६४ लाख ९६ हजार ६४ लाख ५६ हजार बढेको
टेस्ला मोडल ३ १ करोड ३५ लाख १ करोड ५५ लाख घटेको
मोडल वाई १ करोड ९९ लाख २ करोड ४० लाख घटेको
बिवाइडी अट्टो ३ (१०० किलोवाट) ६५ लाख ८८ हजार ६४ लाख ९० हजार बढेको
अट्टो ३ (१५० किलोवाट) ८१ लाख ९९ हजार ८९ लाख ९० हजार घटेको
एमजी एमजी जेड एस (९९ किलोवाट) ५२ लाख ९९ हजार ५२ लाख ४९ हजार बढेको
नेटा नेटा-भी ३८ लाख ९९ हजार ३७ लाख ९९ हजार बढेको
टाटा मोटर्स नेक्सन इभी ४१ लाख ९९ हजार ४१ लाख ९९ हजार यथावत
टिगोर इभी ३३ लाख ९९ हजार ३३ लाख ९९ हजार यथावत
हेन्री मिनकार (सिंगल टोन) २३ लाख ५० हजार २३ लाख ५० हजार यथावत
मिनकार (डुअल टोन) २३ लाख ७५ हजार २३ लाख ७५ हजार यथावत
वुलिङ एयर इभी (३० किलोवाट) ३० लाख ९९ हजार ३० लाख ९९ हजार यथावत
एयर इभी (२६.७ किलोवाट) २४ लाख ९९ हजार २४ लाख ९९ हजार यथावत
निसान लिफ ६४ लाख ९९ हजार ६४ लाख ९९ हजार यथावत

६. टाटा मोटर्स

टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ मूल्य सार्वजनिक गर्न बाँकी नै छ। हाल बजारमा उपलब्ध ३०.२ किलोवाटको लिथियम आयन ब्याट्री भएको नेक्सन इभीको सरुआती बजार मूल्य ४१ लाख ९९ हजार छ। टिगोर इभीको मूल्य भने ३३ लाख ९९ हजार छ। यी मूल्यहरूमा परिवर्तन हुनसक्ने कम्पनीले जनाएको छ। यी गाडीहरूको मूल्यमा ५ देखि ५ प्रतिशतसम्म मूल्य गर्ने अनुमान छ।

७. सिट्रोन 

नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले सिट्रोन ई-सी३ सार्वजनिक गर्ने तयारीमा छ। यो सन् २०२३ को जुलाईमा नेपालमा सार्वजनिक हुने कम्पनीले बताएको छ। नयाँ सिट्रोन ई-सी३ ‘लाइभ’ र ‘फिल विथ प्याक भाइभ’ गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। यसको सुरुआती बजार मूल्य क्रमश: ३२ लाख ९९ हजार र ३४ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। सिट्रोन ई-सी३ मा ५७ पिएसको विद्युतीय मोटर र १४३ एनएमको टर्क सहितको इन्जिन जडित छ।

८. हेन्री 

सिटी कारको रूपमा प्रख्या हेन्रीले बजेटपछि गाडीको मूल्यमा कुनै परिवर्तन गरेको छैन। नेपालमा पायोनिर वर्ल्डवाइडले पनि चिनियाँ ब्रान्ड हेन्री अटोमोबाइलको उत्पादन ‘मिनकार’ बिक्री गरिरहेको छ। यसमा ३५ किलोवाटको मोटर र १७ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक जडित छ।

बजारमा यो सिंगल र डुअल टोन गरी दुई भेरियन्टमा उपलब्ध छ जसको मूल्य क्रमशः २३ लाख ५० हजार र २३ लाख ७५ हजार तोकिएको छ। बजेटले ५० किलोवाटभन्दा कम मोटर क्षमतामा कर दर परिवर्तन गरेको छैन। त्यसैले आफूहरूलाई बजेटको असर नपरेको कम्पनीले जनाएको छ। कम्पनीले अबको केही महिनामा मिनकारको नयाँ भेरियन्ट भने सार्वजनिक गर्ने तयारीमा रहेको जनाएको छ।

९. वुलिङ 

नेपाली बजारमा वुलिङ एयर इभीको आधिकारिक वितरक इभी नेपाल मोटर्सले पनि गाडीको मूल्यमा कुनै परिवर्तन गरेको छैन। ३० किलोवाटको मोटर र २६.७ किलोवाट आवरको ब्याट्री रहेको वुलिङ एयर इभीको मूल्य ३० लाख ९९ हजार तोकिएको छ भने ३० किलोवाट आवरको मोटर र १७ किलोवाट आवरको ब्याट्री जडित वुलिङ एयर इभीको मूल्य २४ लाख ९९ हजार तोकिएको छ। कम्पनीले आगामी दिनमा सोही क्षमताको पाँच सिटर वुलिङ बिंगो सार्वजनिक गर्ने तयारीमा रहेको समेत जानकारी दिएको छ।

१०. निसान 

नेपालमा निसान गाडीको लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले बिक्री गरिरहेको विद्युतीय लिफको मूल्यमा पनि कुनै परिवर्तन गरेको छैन। कम्पनीका अनुसार पुराना स्टक मै भएको गाडी बिक्री गरिरहेको हुनाले मूल्यमा कुनै परिवर्तन नगरिएको हो। निसान लिफमा ११० किलोवाटको मोटर र ४० किलोवाट आवरको ब्याट्री प्याक छ।

हाल लिफको बजार मूल्य ६४ लाख ९९ हजार तोकिएको छ। बजारमा करिब दुई सय वटा लिफ बिक्री भइरहेको कम्पनीले जनाएको छ। कम्पनीले लिफको लागि नयाँ मूल्य निर्धारण नगरेपनि नयाँ लटमा लिफ भित्रिदाँ यसको मूल्य १५ लाख रुपैयाँसम्म वृद्धि हुन सक्छ।

-setopati

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban