

सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १ अर्व ७० करोड ६ लाख ६५ हजार ५ सय रूपैयाँको बजेट पेश गरेको छ ।
सिमरा स्थित क्लासिक होटलमा आठौँ नगर सभाको दोश्रो वैठकको आयोजना गरी उपमहानगरले बजेट सार्वजनिक गरेको हो । यसअघि उपमहानगरले असार २ गते नीति तथा कार्यक्रम पास गरी बुधबार बजेट सार्वजनिक गरेको हो ।
अघिल्लो आर्थिक वर्षको बजेट १ अर्व ९२ करोड ९४ लाख घोषणा गरिएकोमा यो वर्ष करिव ३१ करोड आय घटेको छ । यसैबिच यो वर्ष २ अर्व १ करोड ८० लाख ४८ हजार ४ सय ११ को खर्च तथा व्यय बिवरण पेस गरिएको छ ।
तर आय भन्दा व्यय बढी भई यो वर्ष नगरले ३१ करोड ७३ लाख ८२ हजार घाटा बजेट प्रस्तुत गरेको छ । उपमहानगरका उपप्रमुख भोला प्रसाद अधिकारीले पेश गरेको बजेटको स्रोतमा आन्तरिक आय ४२ करोड ४ लाख, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान २८ करोड, राजश्व बाडफाँटबाट ३९ करोड ७३ लाख लगाएत रहेको छ ।

जीतपुरसिमराका २४ वटा वडाका लागि प्रत्येक वडामा जनसंख्याका आधारमा रकम बिनियोजन गरिएको छ । ठुला वडालाई २ करोड ३१ लाख देखी १ करोडसम्म प्रत्येक वडालाई बिनियोजन गरिएको छ ।
यसैबिच उपमहानगरले यसै वर्षबाट नगरमा स्वयम सेवक शिक्षक नियुक्त गर्न बजेट बिनियोजन गरेको छ । करिव ३ करोडको बजेटमा नगरमा स्वयम सेवक शिक्षक नियुक्त गरी शैक्षिक क्षेत्रको विकासमा केन्द्रित रहने समेत बताईएको छ ।
उपमहानगरले यो वर्ष ठुला आयोजनालाई महत्वमा राखेको छ । साना र टुक्रे आयोजनामा अनियमितता हुने र काम प्रभावकारी नहुने भन्दै ठुला र प्रभावकारी आयोजनालाई मात्रे नीति तथा कार्यक्रमबाट अनुमोदन गरेको हो ।

जीतपुरसिमराले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि उत्पादन, खानेपानी, दिगो पूर्वाधार विकास निर्माण तथा प्रभावकारी सेवा प्रवाहमार्फत् सुशासन कायम गरी उपमहानगरवासीलाई परिवर्तनको प्रत्यक्ष लाभ पु¥याउन कटिबद्ध रहेको उपमहानगरपालिकाले जनाएको छ ।





Write your Comment