

सिमरा ।
बाराका अधिकांश किसानले यस वर्ष धान रोपेका छैनन् । समयमै वर्षात् नहुँदा यस वर्ष जिल्लामा रोपाइँ ढिला भएको हो । असारको मध्यसम्म पनि दाङमा करिब ११ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । यस वर्ष मनसुन ढिला भित्रिएपछि असारको दोस्रो सातासम्म पनि करिब ९० प्रतिशत खेत बाँझै छन् ।
गत वर्ष असारको दोस्रो सातासम्म करिब ३५ प्रतिशत रोपाइँ भइसकेको थियो । यस वर्ष वर्षा ढिला हुँदा रोपाइँ ढिला भएको कृषि ज्ञान केन्द्र बाराका सूचना अधिकारी रामजिवन ठाकुरले बताए । ‘जिल्लामा यस वर्ष अहिलेसम्म करिब ११ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ’, उनले भने, ‘वर्षा ढिला हुँदा यस वर्ष अझै पनि करिव ९० प्रतिशत खेत रोप्न बाँकी छ ।’
गत वर्ष समयमै वर्षा सुरु भएकाले असारको दोस्रो सातासम्म दाङमा ३५ प्रतिशत रोपाइँ सकिएको अधिकारी ठाकुरको भनाइ छ । ‘गत वर्षभन्दा यस वर्ष धेरै कम रोपाइँ भएको छ’, उनले भने । यस वर्ष वर्षा समयमै नहुँदा किसानले बीउ समयमै राख्न नपाएको उनले बताए । ‘किसानले वर्षा ढिला भएकाले बीउ समयमा राख्न पाएनन्’, उनले भने, ‘बीउ भएको भए अहिले वर्षाको समयमा छिटो रोपाइँ हुन्थ्यो ।’
‘धानको बीउ सामान्यतया २०÷२२ दिनदेखि रोप्न सकिन्छ’, उनले भने, ‘अहिलेको वर्षा कायम रहेमा साउनको दोस्रो सातासम्म रोपाइँ सकिन्छ ।’ खडेरी भएमा रोपाइँ फेरि प्रभावित हुनसक्ने उनले बताए । यस वर्ष ढिला गरी रोपाइँ भए पनि अब लगातार वर्षा भएपछि धान उत्पादन नघट्ने उनले बताए
उनका अनुसार बारामा करिव ६२ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ । जसमध्ये हालसम्म करिव ७ हजार हेक्टरमा मात्रै धान रोपिएको छ ।
जिल्लामा आधाभन्दा बढी खेत आकाशे पानीको भरमा धान खेती हुने गरेको सूचना अधिकारी ठाकुरले बताए ।
जिल्लामा सोना मन्सुली जातको धान राम्रो उत्पादन हुने गरेको छ । यो जातको धान कम पानीमा पनि उत्पादन गर्न सकिने उनले बताए । पछिल्लो समय जिल्लामा भदैया, अघनी,सावित्री, लाल वास्मती, हर्दीनाथ १ जातको धान खेती भइरहेको उनले बताए । हाइब्रेड युएस ३१२ पनि किसानले धेरै मात्रामा लगाउन थालेको उनको भनाइ छ ।





Write your Comment