इच्छा वाग्ले विरुद्ध प्रहरीमा जाहेरी, टिपर परिचालन गरेर घर भत्काएको आरोप

रातोघर

 २०८० श्रावण १७, बुधबार  मा प्रकाशित
५२४ पाठक संख्या


सिमरा ।

रातको समयमा घरमा टिपरले हानेर ज्यान मार्ने योजना गर्नेका विरुद्ध कारवाही नभएको भन्दै सिमरा बजनीका प्रविण पाण्डेले दुख व्यक्त गरेका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३, बजनी स्थित आफु सुत्ने गरेको घरमा राति टिपरले ठक्कर दिनु संयोग नभई सुनियोनित ज्यान लिने प्रयास भएको भएपनि सम्बन्धित निकायले न्याय नदिएको भन्दै पाण्डेले दुःख पोखेका हुन् । भत्केको घर अगाडी नै सोमबार पत्रकार सम्मेलन गर्दै पीडित परिवार सहितका स्थानीयले दोषीलाई कारबाही गरेर न्यायको प्रत्याभुती गराउन माग गरेका हुन् ।

पाण्डे लगाएतका १५ परिवारको बसोबास रहेको सो जग्गा उपर पटकपटक किर्ते गर्ने तथा उक्त जग्गाबाट उठिबास लगाउने प्रयत्न गर्ने व्यक्ति जग्गा कारोबारी ईच्छाबहादुर वाग्लेकै योजनामा पाण्डेको घरमा टिपर चलाएको आशंका भएपनी प्रहरीले वाग्लेलाई कारबाही नगरेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

होटल व्यवसायी समेत रहेका वाग्लेले पटकपटक जग्गा छाडेर अन्यत्र जान दवाव दिएको तर आफुले नमानेको कारण घर भत्काएको हुन सक्ने पाण्डेको आशंका छ ।

वाग्लेका कारण पाण्डे परिवार मात्रै नभएर रेल्वे लाइन र हाइवे बिचको नंबरी ९ कट्ठा ९ धुर भित्र बसोबास गर्ने १५ घरपरिवारलाई नै जनधनको डर रहेको चन्द्र बहादुर थापाले बताए । वाग्लेलाई कारबाहीको माग गर्दै स्थानीयवासीले गत साता नै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएका थिए ।

पीडित पक्षका अनुसार साउन ९ गते राति करिब ३ बजेको समयमा लालबहादुर पाण्डेको घरमा नियोजित ढंगले टिपर प्रयोग गरेर तोडफोड गरिएको थियो । उक्त घटना बारे पाण्डे परिवारले ईच्छाबहादुर वाग्लेको नाममा किटानी जाहेरी दिएका थिए । पाण्डेको घरसँगै आरोपी वाग्लेको प्लटिङ्ग छ ।

‘विपक्षी ईच्छाबहादुर वाग्लेले अन्य मान्छे लगाइ मेरो निजी जग्गामा बनेको पक्की घरमा टिपरले पटकपटक ठक्कर हानी पर्खाल, सटर भत्काई ९ लाख बिगो सम्पत्ति नास गरेर ज्यान मार्ने धम्की दिएको कुरा यसै पत्र साथ पेस गरेको छु,’ पीडित पाण्डेले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ, ‘विपक्षीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरी कानुन बमोजिम हदैसम्मको कैद, सजाय र पीडितलाई क्षतिपूर्ति भराई पाउँ ।’

साउन ९ गते राति भएको घटनाबारे प्रहरीले अम्लेखगञ्ज, पथलैया, जीतपुर र परवानीपुरसम्मका सीसी क्यामेरामा कैद भएको फुटेज अध्ययन गरेको छ । घटना हुनुभन्दा केही समय अघि पथलैयाबाट पहेलो रङको आइचर कम्पनीको टिपर निस्किएको र टिपरको पछिपछि रातो रङको एउटा स्कुटर र ईच्छाबहादुर वाग्लेको गाडी उनकै सालो सन्दिप बस्नेतले चलाएको फुटेज भेटिएको छ ।

जसको आधारमा ईप्रका सिमराले शुक्रबार साँझ वाग्लेका सालो सन्दिप बस्नेतलाई नियन्त्रणमा समेत लिएको थियो । अनुसन्धानका लागि बस्नेतलाई नियन्त्रणमा लिएको क्षणभरमै प्रहरी संगठनकै उच्च अधिकारीबाट तत्काल छोड्न आदेश आएपछि प्रहरीले उनलाई छाडेको थियो ।

पाण्डेको घर भत्काउन प्रयोग भएको पहेलो रङको टिपरको नम्बर प्रस्ट नदेखिएकोले अनुसन्धानमा समय लागेको र सो टिपरको खोजी कार्य तिव्र पारिएको प्रहरीले जनाएको छ । साथै इच्छा होटलका सञ्चालक वाग्लेले आफ्नो होटलमा जडान भएको सीसी क्यामराको फुटेज प्रहरीलाई दिन नमानेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदिप बहादुर क्षेत्रीले बताए ।

घरछेउमै वाग्लेको प्लटिङ भएकाले २०६८ सालदेखि पटक पटक विवाद हुँदै आएको पीडित पाण्डेको भनाइ छ । पीडित पाण्डे परिवारले वाग्लेले मार्ने उद्देश्यले रातमा टिपर प्रयोग गरेर घर भत्काएको दाबी गरेका छन् ।

वाग्लेकै मान्छेको संलग्नता हुन सक्छ – तारा बहादुर कार्की

पाण्डेको घर इच्छा होटेलका संचालक इच्छा वहादुर वाग्लेले नै भत्काएको हुन सक्ने वडा न ३ का वडाध्यक्ष तारा बहादुर कार्कीले आशंका व्यक्त गरेका छन् ।

इच्छा होटेलका संचालक इच्छा बहादुर वाग्लेले टिपर लगाएर घर भत्काएको भन्दै ईलाका प्रहरी कार्यालय सिमरामा नाम खुलाएर जाहेरी पिडित पक्षले दिएको तर पावर र पैसाको भरमा प्रहरीले वाग्लेलाई कारवाही नगरेको वडाध्यक्ष कार्कीले आरोप लगाएका छन् । जाहेरीमा स्पष्ट नाम उल्लेख भए पनि प्रहरीले कारवाही नगरेको प्रति स्थानियहरुले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर बिरोध गरेको थिए ।

ईलाका प्रहरी कार्यालय सिमराले शुक्रबार साँझ वाग्लेका सालो सन्दिप बस्नेतलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका लागि बस्नेतलाई नियन्त्रणमा लिएको क्षणभर मै प्रहरी संगठनकै उच्च अधिकारीबाट तत्काल छोड्न आदेश आएपछि प्रहरीले उनलाई छाडेको कार्कीले रातोघरलाई जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban