मधेसमा विशेष संगठनात्मक योजना बनाउन जीतपुरसिमरा प्रमुख पौडेलको प्रस्ताव

रातोघर

 २०८० श्रावण २०, शनिबार  मा प्रकाशित
५३० पाठक संख्या


सिमरा ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले मधेसमा विशेष संगठनात्मक योजना तयार पार्न प्रस्ताव गरेका छन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा शनिबार धारणा राख्दै पौडेलले त्यस्तो प्रस्ताव गरेका हुन् । मधेस र उपत्यकामा धेरै निर्वाचन क्षेत्र रहेको र यी क्षेत्रहरुमा पार्टीले विशेष संगठनात्मक योजना बनाउनु पर्ने उनको माग छ ।

‘चुनावी परिणामको अंकगणित महत्वपूर्ण र निर्णायक हुने भएकोले धेरै निर्वाचन क्षेत्र रहेको मधेस प्रदेश र उपत्यकाका बारेमा विशेष संगठनको योजना चाहिन्छ,’ नेता पौडेलले भने ।

उनले माओवादीको नेतृत्वमा रहेका १२२ वटा स्थानीय तहका सरकारलाई ब्यवस्थित बनाउन पार्टीको स्थानीय तह विभागको नेतृत्व पार्टी पदाधिकारीकै तहमा बनाउनु पर्ने माग गरे । त्यस्तो विभागको नेतृत्व पदाधिकारीभित्र पनि क्रियाशिल पदाधिकारीको नेतृत्वमा बनाउनु पर्ने उनको माग छ ।

उनी स्वयम जीतपुर सिमरा उपमहानगरपालिकामा माओवादीबाट निर्वाचित मेयर हुन् । उनले पार्टीको केन्द्रीय समिति पनि चुस्त र सानो आकारको बनाउन माग गरे । उनले भने, ‘मञ्चमा रहेको संख्या बराबरको केन्द्रीय कमिटी बनाउने र बाँकीलाई प्रदेश र स्थानीय कमिटीमा राखेर क्रियाशील कमिटी बनाउनुपर्छ ।’ माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको मञ्चमा पदाधिकारी र स्थायी समिति सदस्यहरुका लागि बस्न ब्यवस्थापन गरिएको छ ।

पौडेलले हाते सर्कुलरको मनोविज्ञान र हाल विकास र प्रयोग भईरहेको सूचना प्रविधिको प्रयोगबीचको अन्तरविरोधको हल पनि पार्टी संगठन निर्माण र सञ्चालनमा सम्वोधन गरेर जानुपर्नेमा जोड दिएका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban