

पर्सा ।
पर्सामा किशोरीलाई टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटाकुट हुँदा एक युवकको मृत्यु भएको छ । १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटाकुट हुँदा पर्सागढी नगरपालिका-४, वारवाटाडीका २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको हो ।
कुटपिटको अभियोगमा प्रहरीले पर्सागढी नगरपालिका-४ का २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई पक्राउ गरेको छ । वकिल महमद अन्सारी र अली महमद अन्सारीबीच शनिबार राति विवाद भएको थियो ।
विवाद बढ्दै गएपछि अबतुल्लाहले जमुदिनलाई चिर्पटले प्रहार गरेका थिए । चिर्पटको प्रहारबाट गम्भीर घाइते भएका जमुदिनको एलएस न्युरो अस्पताल बारामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





Write your Comment