भारतीय मालवाहक गाडी रोक लगाउन ट्रक यातायात व्यवसायी महासंघको माग

रातोघर

 २०८० भाद्र १३, बुधबार  मा प्रकाशित
६७५ पाठक संख्या


सिमरा ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले नेपालमा रहेका भारतीय मालवाहक गाडीहरुमा रोक लगाउनुपर्ने माग गरेको छ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा रहेका भारतीय मालवाहक गाडीका कारण नेपालमा रहेका मालवाहक गाडीहरुले काम नपाउने स्थिति बनेको भन्दै भारतीय मालवाहक गाडीहरुमा रोक लगाउन माग गरेका हुन्। उनीहरुले निर्वाध रुपमा आउने भारतीय गाडीमाथि स्थायी ढंगबाट रोक लगाइनुपर्ने बताए।

यस्तै उनीहरुले काठमाडौं लगायतका प्रमुख ठाउँमा ट्रक पार्किङ स्थलको उचित व्यवस्थापनको माग गरेका छन्। महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले निर्धारित भाडादरको कार्यान्वयन हुनुपर्ने बताए। उनले ट्रक यातायातमा ४७ वटा मुख्यमुख्य रुटहरुको भाडादर निर्धारण गरेको र त्यसको प्रभावकारी नभएको बताए।

भाडाको कार्यान्वयन र त्यसको अनुगमन प्रभावकारी बनाउन आग्रह गरे। उनले सहज ढंगले दुर्घटना निकासको सुनिश्चितता, घाइतेको उपचार व्यवस्था, कानूनसम्मत भारवहन कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने बताए।

उनले सरकारले ट्रक पार्किङ व्यवस्थापन, निर्धारित भारदर कार्यान्वयन लगायत मागहरु सम्बोधन नगरेको बताए ।

‘हामीले सरकारलाई पटक पटक मौखिक र लिखित जानकारी गराउदा समेत कुनै सुनुवाई नगरी दैनिक सयौको संख्यामा मालवाहक सवारी साधनलाई दण्डित गर्ने कार्य रोकिएन’ उनले भने, ‘सरकार निरीह छ ।’

उनले हाल मालबाहक सवारीको क्षेत्रले भोग्नु परेका समस्या, महासंघको आगामी रणनीति लगायत विषयमा महासंघले नेपाल सरकारका सम्बन्धित निकायहरुसँग अनुरोध, छलफल र समन्वय गर्दै विभिन्न समस्या समाधानका लागि काम गर्दै जाने बताए ।

महासंघले राहतजन्य कार्यहरुको व्यवस्थापन,राजश्व चेकजाँचको बेला ट्रकमा भएको सामान र त्यससँग सम्बन्धित कागजातबीच कुनै किसिमको तालमेल नमिलेको वा सो समब्न्धी विषयमा शंका लागेमा ट्रकलाई महिनौँसम्म थुन्ने, सामान जफत गर्ने सम्बन्धित ऐनहरुमा संशोधन गर्न माग गरेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban