पर्साको ठोरी गाउपालिकामा मान्छे मार्ने ८ वर्षिया पोथी बाघ निकुञ्ज ल्याइयो

रातोघर

 २०८० भाद्र १८, सोमबार  मा प्रकाशित
५५० पाठक संख्या


बारा ।

पर्साको ठोरी गाउपालिकाबाट नियन्त्रणमा लिईएको घाईते पोथी बाघलाई आईतवार पर्सा राष्ट्रिय निकुञ्ज मुख्यालय आधाभारमा निर्माण गरिएको खोरमा सिफ्ट गरिएको छ ।

घाटीमा घाउ चोट लागेको र अगाडीको खुट्टा फ्याक्चर भएको करीब ८ वर्षिय पोथी बाघलाई उपचार गरी खोरमा सिफ्ट गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सुर्य खडकाले जानकारी दिए ।

पर्सा राष्ट्रिय निकुञ्जबाट निस्किएको घाईते पोथी बाघले पर्साको ठोरी गाउपालिका वडा नं. ५ सुवर्णपुर बस्ने ५५ वर्षिय कान्छा दोङलाई आक्रमण गरी मारेपछि बाघलाई नियन्त्रण लिईएको हो ।

निकुञ्जबाट करीब एक किलोमिटरको दुरीमा रहेको ठोरी गाउपालिका ५ सुवर्णपुर आठघरे स्थित रहेको गोठमा रहेको गोरु माथी घाईते बाघले भदौं १३ गते बिहान करीब १० बजे आक्रमण गरेको थियो ।

गोरुलाई जोगाउन घरेलु हतियार सहित निस्केका कान्छा दोङ सोही बाघको आक्रमणमा परी मारिएको पर्सा निकुञ्जका सहायक संरक्षण अधिकृत खडकाले जानकारी दिए ।

‘गोरुलाई जोगाउने क्रममा दोङ बाघको आक्रमणमा मारिएका हुन,’ उनले भने, ‘बाघले झम्टेको गोरी चाही सुरक्षित छ ।’ गोरु जोगाउने व्यक्ती दोङ बाघको आक्रमणबाट मारिन पुगेको उनले बताए ।

बाघले मान्छे मारेको खबर पाउने बितिकै निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली, निकुञ्जका कर्मचारी सहितको टोली सुवर्णपुर क्षेत्रमा खटिएका थिए ।

मान्छे मार्ने घाईते बाघलाई तीन दिनको निरन्तर निगरानी र प्रयासपछि शनिवार बिहान करीब १० बजे ठोरी गाउपालिका ५ सुवर्णपुर आठघरेबाट नियन्त्रणमा लिईएको उनले जानकारी दिए ।

बाघ नियन्त्रणका लागि निकुञ्जको चिकित्सक सहितको कर्मचारी टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा वन्यजन्तु चिकित्सक तथा कर्मचारी एवं हात्ती समेतको प्रयोग गरिएको उनले बताए ।

उमेरले बुढो हुने र शिकार खेल्न नसक्ने बाघ बस्ती क्षेत्रमा आहाराको लागी पुग्ने गरेको सहायक संरक्षक अधिकृत खडकाको भनाई छ । बाघको औषत उमेर १२ देखी १५ वर्षको हुने गरेको उनले जानकारी दिए ।

डार्ट गरी नियन्त्रणमा लिईएको यो पोथी बाघ पनि उमेरले बुढो र घाईते समेत भईसकेकोले आहाराको लागी बस्ती पुग्न गएको उनको भनाई छ ।
बस्ती क्षेत्रमा पुगेर बाघले मारेको दोङ परिवारलाई क्रिया खर्च वापत कम्तीमा ५० हजार रुपैयाँ सोमवार उपलब्ध गराईने र बाकीको रकम आवश्यक कागजी प्रक्रिया पुरा गरेपछि उपलब्ध गराईने सहायक संरक्षण अधिकृत खडकाले बताए ।

निकुञ्जसंग जोडिएको ठोरी गाउपालिकाको विभिन्न स्थानमा वन्यजन्तु बस्ती पुगेर बेलाबेलामा मानविय तथा बालीनाली, वस्तुभाउलाई क्षति पुर्याउदै आएको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले जानकारी दिए ।

‘निकुञ्जमा पछिल्लो समय बाघको संख्या बढेको र बेलाबेलामा बाघ बस्तीमा उने गरेका छन,’ उनले भने, ‘केही दिन अगाडी निकुञ्जको टोलीले एउटा बाटे बाघलाई पनि ठोरी क्षेत्रबाटै डार्ट गरेर नियन्त्रणमा लिएको थियो ।’ निकुञ्ज छेउछाउको बस्ती पहिलाको तुलनामा अहिले वन्यजन्तुबाट असुरक्षित बन्दै गएको उनको भनाई छ ।

निकुञ्ज क्षेत्र भन्दा बाहिर निस्केको वन्यजन्तुको आक्रमणमा परी मारिने व्यक्तीको परिवारलाई निकुञ्ज विभागले १० लाख रुपैयाँ राहत उपलब्ध गराउने कानुनी व्यवस्था रहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban