निजगढमा धान फलाउने किसान पिडित् , दाना नलागेपछी काटेर आगो लगाउन बाध्य

रातोघर

 १८ आश्विन २०८०, बिहीबार १६:२६  मा प्रकाशित
३७५ पाठक संख्या



सिमरा ।

निजगढका कृषकले लगाएको धान वाली नफल्दा समस्यामा परेका छन् ।

कमसल बिउको कारण फल्दै नफली सुक्न थालेपछि निजगढ ९ का किसानले धानको बोट काटेर आगो लगाउन थालेका छन ।

उन्नत जातको भनेर मंहगोमा खरिद गरेर रोपेको धानमा रोग लागेर दाना नलागेपछि चिन्तित बनेका किसानहरुले धान काटेर आगो लगाउन थालेका हुन ।

वर्षभरी खाने र घर खर्चसमेत चलाउने भनेर लगाएको धान थारो बसेपछि आफूहरु समस्यामा परेको निजगढ ९ देउराली पथका किसान चन्द्रबहादुर श्रेष्ठले बताए ।

ऋण काढेर लगाएको धान फल्दै नफलेपछि नोक्सानी बेहोर्नु परेको अर्का किसान छविलाल चौलागाईले बताए ।

यता निजगढ ९ का वडा अध्यक्ष रामचन्द्र कटवालले वडाका दर्जन भन्दा बढी किसानले रोपेको धानमा बाला नलागेको गुनासो आएको बताए ।

उनले मानो रोपेर मुरी उब्जाउने आशमा धान रोपेका किसानको बाली बिग्रिएपछि पीडित बनेका किसानहरुलाई राहत दिने बारेमा नगर कार्यपालिकामा आफूहरुले छलफल गरेर निर्णय गर्ने बताए ।

बिक्रेताले अन्य बिउले भन्दा बढी उत्पादन दिने बताएपछि यहाँका दर्जनौं किसानले डेल्टारानी जातको बीउ खरिद गरेर रोपेका थिए ।

 

Write your Comment