ठोरी ।
नेपाली काङ्ग्रेस ठोरीले शिक्षकहरुको काठमाडौ केन्द्रित सडक आन्दोलनको औपचारिक नैतिक समर्थन गरेको छ । गत असोज ३ गतेदेखि विभिन्न माग राखी काठमाडौको सडक आन्दोलनबाट विभिन्न चरणमा सरकारसँग सम्झौता गरि फर्किएका ठोरीका शिक्षकहरुलाई नेपाली काँग्रेस ठोरीले स्वागत,बधाई तथा सम्मान गर्दै नैतिक समर्थन गरेको हो ।
ठोरी ४ निर्मलबस्तीमा आयोजित सम्मान कार्यक्रममा आन्दोलनबाट फर्किएका शिक्षकहरुलाई नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रामबहादुर श्रेष्ठ ,प्रकाश खनाल र सन्तोष श्रेष्ठले टीका र खादा लगाइ शिक्षकहरुलाई बधाई तथा सम्मान गरेका थिए।
काँग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठको सभापतित्वमा आयोजित कार्यकममा काँग्रेस महाधिवेशन प्रतिनिधि रामबहादुर श्रेष्ठ र प्रकाश खनालले यो देशमा शिक्षक जस्तो सम्मानित पेशामा रहेका व्यक्तिहरुले आफ्नो अधिकारका लागि सडक आन्दोलन गर्नुपर्ने अवस्था प्रति राज्यले विवेक नपुर्याएको धारणा राखे।जुन देशमा शिक्षा र शिक्षकको मान र मर्यादा रहँदैन त्यो देशको विकास सम्भव नभएकाले शिक्षक पेशालाई मर्यादित बनाइनुपर्ने धारणा उनीहरुको थियो।
राज्यले शिक्षकसँग गरेको सम्झौता नहिच्किचाइकन पूरा गर्नुपर्नेमा उनीहरुले जोड दिए। भावी पुस्तालाई समेर सम्मान पेशा बनाउनको लागि पनि आन्दोलनरत शिक्षक र सरकार बिच भएको सम्झौता अक्षरस पालना गर्न सरकार कटिबद्ध हुनुपर्ने धारणा समेत उनीहरुको थियो।
कार्यक्रमको सभापति समेत रहेका काँग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठले शिक्षकलाई जबसम्म हँसिलो अनुहार बनाएर कक्षाकोठामा प्रवेश गराउने वातावरण सरकारले बनाउँदैन तबसम्म शिक्षामा गुणस्तर नआउने बताए। नानाथरीका शिक्षकहरुलाई एकरुपता गराई सामान्य तरिकाको प्रक्रिया पुर्याइ सरकारले स्थायी बनाउनुपर्ने बताए।
शिक्षकमाथि व्यापक भेदभाव रहीरहेको बताउँदै सभापति श्रेष्ठले जबसम्म शिक्षालाई हेर्ने नजरमा सुधार आउँदैन तबसम्म समाज परिवर्तन नहुने समेत बताए।
कार्यक्रममा नेपाल शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठ ,नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य केशव शर्मा,नेपाल शिक्षक संघ मधेस प्रदेश समितिका सदस्य चिरञ्जीवी सापकोटा ,नेपाल राष्ट्रिय शिक्षक संगठन ठोरीका अध्यक्ष गोपिलाल श्रेष्ठ ,नेपाल राष्ट्रिय शिक्षक संगठन एकीकृत ठोरीका अध्यक्ष दीपेन्द्र सापकोटा ,वालविकास शिक्षक संघर्ष समिति ठोरीकी अध्यक्ष सुमित्रा परियार लगायतका शिक्षक अगुवाहरुले आ आफ्नो धारणा राखेका थिए। शिक्षक अगुवाहरुले भर्खरै सम्पन्न शैक्षिक आन्दोलनका उपलब्धिहरुलाई शिक्षा ऎनमा नसमेटिए दोस्रो आन्दोलनको लागि तयारी अवस्थामा रहन समेत शिक्षकहरुलाई अनुरोध गरे।
स्वागत तथा सम्मान कार्यक्रमको सहजीकरण नेपाली काँग्रेस ठोरीका सचिव भक्तबहादुर श्रेष्ठले गरेका थिए। कार्यक्रम काठमाडौको सडक आन्दोलनमा गएका शिक्षकहरुको उपस्थिति रहेको थियो।
Write your Comment