सिमरा ।
होटल तथा पर्यटन व्यवसायी संघ बाराले नगरको अमलेखगञ्जमा कर शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
आन्तरिक राजश्व कार्यालय सिमराको समन्वयमा संघले अमलेखगञ्जका होटल व्यवसायीहरुलाई कर तथा राजश्व सम्वन्धी जानकारीमूलक कार्यक्रमको आयोजना गरेको हो ।
यसअघि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले असोज १९ गते सिमरा बजार त्यसैगरी संघको सभाहल जीतपुरमा कर शिक्षा कार्यक्रमको आयोजना गरेको थियो ।
यता बिभिन्न सम्वन्धित निकायहरुको सहयोगमा आन्तरिक राजस्व कार्यालय सिमराले करदाताहरुलाई कर सम्बन्धि शिक्षा दिने कार्यक्रमलाई सकृयताका साथ अघि बढाइरहेको छ । राजस्व कार्यालयले आफ्नो क्षेत्र भित्र पर्ने विभिन्न ठाँउहरुमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमहरु गर्दै आइरहेको छ ।
होटर तथा पर्यटन व्यवसायी बाराका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख राजकुमार खतिवडा प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा राजश्व कार्यालयका कर अधिकृत बालकृष्ण कटेलले करदाताहरुलाई प्रशिक्षण दिएका हुन् । कार्यक्रममा अम्लेखगञ्ज, पथलैया र ३ नम्बर पुलका ६० जना भन्दा बढी व्यवसायीहरुको सहभागितामा रहेको थियो ।
कार्यक्रममा व्यवसायी तथा उद्योगीहरुलाई कर तथा राजश्व सम्वन्धी जानकारी र आन्तरिक राजश्व कार्यालयमा बुझाउनुपर्ने कागजात चुस्तदुरुस्त राख्ने सम्वन्धी शिक्षा दिइएको थियो ।
यस्तै व्यवसायीहरुलाई करको दायरा र राजश्व समयमै तिर्दा हुने फाइदा र वेफाइदाहरु बारे जानकारी दिदै कार्यक्रममा व्यवसायीहरुले आफ्नो बिभिन्न जिज्ञासाहरु राखेको थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले कानुनी रुपमा बलियो भएर व्यवसाय वा होटल संचालन गर्दा कसैको पनी डर वा अप्ठ्यारो अवस्थामा पर्न नपर्ने बताएका छन् ।
उनले यहाँका होटलहरु अव पर्यटन प्रवर्धनमा समेत सकृय हुनुपर्ने भन्दै पर्सा निकुञ्जलाई ‘नेचर टुरिजम’ संग जोडेर अमलेखगञ्जलाई ‘होटल, रिसर्ट र होमस्टे हवका रुपमा बिकास गर्न सकिने सम्भावना रहेको रहेको बताए । यस अनुरुप लामिछानेले यहाँका सम्पुर्ण होटलहरु करको दायरमा गई व्यवस्थित ढंगबाट अगाडी बढ्न आग्रह समेत गरे ।
यस्तै कार्यक्रममा अध्यक्ष होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष अर्जुन लम्सालले करमा चुहावट हुने गरेको र बिना दर्ता व्यवसायी संचालन गरेर राजस्व कार्यालयको कार्वाहीमा परे संघ कुनै जवाफदेही नहुने भन्दै कर प्रणालीमा आवद्ध हुन सवै होटल संचालकहरुलाई आग्रह गरेका छन् ।
Write your Comment