सिमरा ।
जीतपुरसिमरा उपमहानगरपालिका ११ मा नम्बरी जग्गाको स्वीकृति लिएर सरकारी जग्गाबाट माटो चोरी गरी विशेष आर्थिक क्षेत्र (सेज) मा बिक्री गरेको घटना सार्वजनिक भएपछि सामाजिक संजालमा व्यापक आलोचना र बिरोध भइरहेको छ ।
उपमहानगरपालिकाको कार्यालयसंग नम्बरी जग्गाको स्वीकृति लिएर सार्वजनिक जग्गाबाट करोडौं मूल्य बराबरको माटो चोरी गर्ने घटना सामान्य विषय नरहेको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारवाहीसहित छलि गरिएको रकम समेत असुलउपर गर्न चौतर्फी दबाब बढेको छ ।
दवावसंगै राजस्व छली र चोरीको आरोप लागेका जनप्रतिनिधिले राजिनामा दिनुपर्ने भन्दै सामाजिक संजालमा बिरोध शुरु भएको छ । चोरीमा संलग्न वडा अध्यक्ष, सदस्यहरु लगाएत घटनाको ढाकछोप गरेको आरोप लागेका नगरप्रमुख माथी नै राजिनामा माग गर्न थालिएको छ । यस्तै घटना घटेको ठाउँमा तालिम प्राप्त कुकुर परिचालन गरी घटनाको सत्यतथ्य अनुसन्धान गर्न समेत सामाजिक संजालमा टिकाटिप्पणी भएका छन् ।
के हो घटना ?
उपमहानगरपालिकाको कार्यालयले साविक फत्तेपुर गाविस वडा नं. ९ हाल जीतपुरसिमरा वडा नं. ११ को कित्ता नम्बर ३५ को पाँच बिगाह क्षेत्रफलको जग्गाबाट एक सय टिपर माटो व्यवसायिक बिक्री गर्नका लागि स्वीकृति प्रदान गरिएको थियो । तर स्थलगतरुपमा अनुगमन गर्दा सोही वडाको कित्ता नं. ४२ को सार्वजनिक जग्गाबाट हजारौं टिपर माटो उत्ख्नन् गरेको स्थानियको भनाई छ ।
यता उपमहानगरले चालु आर्थिक वर्षको नगरसभा मार्फत आर्थिक ऐनमा समावेश गरेर माटोमा पहिलो पटक कर निर्धारण गरेको थियो ।
सार्वजनिक तथा निजी जग्गाबाट अवैध ढङ्गले हुने माटोको चोरी तस्करी नियन्त्रण गर्न उपमहानगरले माटोमा कर लगाएको हो । विगतमा वन जङ्गल, खोला नाला तथा सार्वजनिक जग्गाबाट हजारौँ टिपर माटो अवैध ढङ्गले तस्करी गरेर बिक्री वितरण हुँदा ती घटना खासै सार्वजनिक हुँदैनथे ।
यसैबिच माटोको कर तिर्ने भन्दै असोज ४ गते उपमहानगर वडा नं ११ का वडाध्यक्ष विन्दालाल साहले महमद दिन मियाँ चुरीहारको भोगचलनमा रहेको साबिक फक्तेपुर गाविस हाल जीतपुर सिमरा वडा नं ११ को कित्ता नं ३५ को ५ बिगाहा जग्गाबाट एक सय टिपर माटो उत्खनन गर्न उपमहानगरलाई सिफारिस पत्र पठाएका थिए ।
सानो परिणाममा व्यक्तिको निजी जग्गाबाट माटो उत्खनन गर्ने भनिएपछि उपमहानगरले ७२ हजार राजस्व लिएर तत्कालै उत्खनन अनुमति दिएको थियो । तर अनुमती लिएको कित्ताभन्दा फरक कित्ताबाट माटो उत्खनन् गरिएपछी स्थानियले नगरपालीकालाई गुनासो गरेपछी घटना बाहिर आएको हो ।
उपमेयरको अनुगमन
सार्वजनिक जग्गाबाट ठुलो परिणाममा माटो चोरी भएपछि जीतपुरसिमरा उपमहानगरका उपप्रमुख सहित प्राविधिक टोली चोरी भएको माटोको खोजीमा लागेको छ ।
अनुगमनका क्रममा सेजको आन्तरिक सडक निर्माण र उद्योगीको संरचना निमार्र्णको क्रममा सेजमा हजारौँ टिपर माटो खपत भएको देखिएको छ । यता स्थानीयहरूले पनी सार्वजनिक जग्गाबाट चोरी भएको माटो सिमरा सेजमा बिक्री भएको बताएका छन् ।
उपप्रमुख तथा राजस्व परामर्श समितिका संयोजक समेत रहेका भोलाप्रसाद अधिकारीले अनुगमनबाट फर्किएपछी सार्वजनिक जग्गाको माटो बेचेर मुनाफा कमाउन गिरोह नै लागी परेको बताए । उनले माटो चोरीमा ठुलो माफिया समूहले कार्यालयलाई समेत गुमराहमा राखेर सार्वजनिक जग्गाबाट माटो चोरी गरेको टिप्पणी गरेका छन् ।
कोको छन् संलग्न ?
उपमहानगर वडा नं ११ का निवर्तमान वडाध्यक्ष विनोद यादवले बहालवाला वडाध्यक्ष विन्दालाल साह र वडा सदस्यहरूको मिलेमतोमा विना लालपुर्जा जग्गाधनी खडा गरेर उपमहानगरसँग सय टिपरको उत्खनन अनुमति लिएको तर, माटो भने सार्वजनिक जग्गाबाट चोरी गरेको आरोप लगाएका छन् । यता नगरपालीकाको अनुगमनले समेत सोहीलाई स्विकारेको छ ।
तर वडाध्यक्ष साहले आफु दोषी नभएको जिकिर गरिरहेका छन् । उनले नगरपालिकाबाट आएको कर्मचारीले नै गलत ठाउँको जग्गा हेरेर माटो उत्खनन गर्न अनुमति दिएको आरोप लगाएका छन् ।
यता माटो उत्खनन् गर्ने स्थान अध्ययन गर्न गएका नगरपालीकाका इन्जिनियर संजिव रुपाखेतीले भने आफुलाई सिफारिस गरिएको भन्दा फरक कित्ता देखाई झुक्याएको र विस्वासका आधारमा कागजपत्र नहेरेको बताए । फिल्डमा पुगेका रुपाखेतीले काजगपत्र र नक्सा हेरेको भए कित्ता फरक रहेको कुरा उतीबेलै पत्ता लाग्ने भन्दै कतिपय स्थानियले नगरपालीकाका कर्मचारीमाथी पनी मिलोमतोको आशंका गरेका छन् ।
यता नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम बरालमाथी पनी घटनामा संलग्न देखिएको आरोप छ । उनी यही बिषयलाई लिएर जनप्रतिनिधि सहित उपमहानगरपालिकाको कार्यालय पुगेको बुझिएको छ ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष विन्दालाल साहद्धारा हस्ताक्षरित सिफारिस बोकेर उपमहानगरपालिका पुगेका नगर कमिटी अध्यक्ष बरालले स्वीकृति प्रदानका लागि सहजीकरण गर्न ईन्जिनियर रुपाखेतीलाई अनुरोध गरेका थिए । तर बरालले पार्टीगत हिसाबले आफूले सहयोग मात्रै गरेको तर माटो चोरीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
यसैबिच माटो उत्खननमा प्रयोग भएको टिपर तथा एक्स्काभेटर व्यवसायी सुनिल कुमार गुप्ताको हो । उनी पनी यो चोरीको घटनामा संलग्न देखिएका छन् ।
उपमहानगरले अवैध माटो चोरीमा लगाइएको एक्स्काभेटर धनी गुप्तालाई पनि उपमहानगरले लिखित पत्र पठाएर माटो बिक्रीमा प्रयोग भएको सवारी साधन र कुन कुन फर्मबाट माटो बिक्री भएको हो त्यसको विवरण खुलाएर ३ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ ।
माटो उत्खनन् गर्ने एक्साभेटर बेपत्ता
उपमहानगरपालिकाको टोलीले नियन्त्रणमा लिएर राखेको एक्साभेटर सोमबार रातीदेखी बेपत्ता छ । वडा नं. ११ स्थित निर्माणाधिन उद्योग परिसरमा राखिएको एक्साभेटर रातीको समयमा भगाइएको हो । सरकारी टोलीले नियन्त्रणमा लिएर राखेको एक्साभेटर बेपत्ता पारिदा समेत स्थानीय प्रहरीप्रशासन अनविज्ञ देखिएका छन् ।
उद्योगमा कार्यरत सुरक्षा गार्डले समेत सुत्ने बेला उद्योगभित्रै रहेको एक्साभेटर बिहान उठ्दा नदेखिएको बताए ।
Write your Comment