अस्ताए जीतपुरसिमराका प्रथम नगर प्रमुख

रातोघर

 २६ आश्विन २०८०, शुक्रबार १०:१४  मा प्रकाशित
५५९ पाठक संख्या



सिमरा ।

जीतपुरसिमरा उपमहानगरपालिकाका प्रथम नगर प्रमुख डा. कृष्ण पौडेलको असामयिक निधनले जीतपुरसिमरा शोकमा डुबेको छ ।सहकारी अभियन्ताका रुपमा समाजमा स्थापित भएका डा.  पौडेल २०७४ मा जीतपुर सिमरा उपमहानगरपालिकाको प्रथम नगर प्रमुख बनेका थिए ।

लामो समयदेखि सहकारी क्षेत्रमा सक्रिय उनी स्थानीय हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष हुन् । उनकै सकृयताले सिमरामा दजर्नौ सहकारी संस्थाहरुको उदय भयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का सञ्चालक सदस्य रहेका पौडेल अडिटर्स एसोसिएसन अफ नेपाल (अडान) को उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालेका थिए ।
सहकारीमा सामाजिक उत्तरदायित्व विषयमा विद्यावारिधि गरेका डा. पौडेलले सहकारी अभियानमार्फत समाजप्रतिको सामाजिक उत्तरदायित्वपूर्ण कार्यमा अहम भूमिका निर्वाह गर्दै मधेस प्रदेशमै सहकारी स्थापनाको अभ्यासमा सकृय भए ।

त्यसअघि उनको लामो अध्यापन यात्राले पनी उनलाई समाजले चिन्यो । डुमरवाना क्याम्पस, ने.रा.मा.वि. सिमरा, सिमरा कलेज लगाएतका शिक्षण संस्थाहरुमा  लामो शैक्षिक यात्राको अनुभव उनीसंग रहयो ।

को हुन् डा. पौडेल

जीतपुरसिमरा उपमहानगरको पुर्व नगर प्रमुख कृष्ण पौडेलको जन्म २०२९ सालमा भएको हो । रामप्रसाद पौडेल र विष्णुदेवी पौडेलको पहिलो सन्तानका रुपमा पौडेल मकवानपुरको न्युरेनी चिसापानीमा जन्मिएका हुन् ।

पाँच दाजुभाई र दुई दिदीबहिनीमध्ये जेठा पौडेलको अहिले बसोबास जीतपुरसिमरा,२ मा रहेको छ ।नेकपा एमालेको राजनितिमा लामो समयदेखि सक्रिय उनी २०५८ सालदेखी जिल्ला सचिवालय सदस्य बने । करिब १५ वर्ष पार्र्टीको जिल्ला प्रचार बिभाग सम्हालेका उनी प्ररायुसंघ, अनेस्ववियु हुदैँ पार्टीको राजनीतिमा सक्रिय भएका थिए ।

विभिन्न आन्दोलनको अगुवाई गर्ने उनी २०६२ र ६३ आन्दोलनमा २४ दिनसम्म पक्राउ परेका थिए । सहकारी बिषयमा विद्यावारिधी, ब्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका पौडेलले जापान, सिंगापुर, बैंकक, दक्षिण कोरिया, पाकिस्तान, श्रीलंका, मलेसिया, भारत जस्ता देशको भ्रमण गरेर अनुभव बटुलेका थिए ।

एक छोरा र एक छोरीका पिता डा. पौडेल डुमरवाना बहुमुखी क्याम्पसका पूर्व सञ्चालक अध्यक्ष समेत हुन् । उनको पार्थिव शरिरका लागी शुक्रबार  १२ बजे सिमरा स्थित वडा नम्बर २ को कार्यालय अगाडी अन्तिम श्रदाञ्दलीका लागी राखिने भएको छ ।

Write your Comment