

सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा रहेका प्राय वडाले पोलवत्तीका नाममा बजेट बिनियोजन गर्ने गरेपनी बजेट बरावरको रकम खर्च गर्न सकेका छैनन् ।आर्थिक वर्ष २०८०/८१ का लागी उपमहानगरले वडाहरु सहित करिब एक करोड ८५ लाख बजेट विनियोजन भएको देखिएको छ । केही वडाले खर्च समेत गरिसकेका छन् ।आर्थिक मन्दीले देश नै प्रभावित बनाइरहेको बेला उपमहानगरले यो आर्थिक वर्षमा घाटाको बजेट सार्वजनिक गरेपनी वडाको बजेट शिर्षकमा अनुत्पादक क्षेत्रको लगानीलाई प्रोत्साहन गरिएको देखिन्छ ।
उपमहानगरले स्वयम र वडा तहबाट वर्षेनी करोडौँ रकम वत्ती, सोलार र टावर लाइटका नाममा करोडौँ रकम खर्च हुने र कतिपय वडाहरुले अन्य शिर्षकमा राखिएको बजेट समेत खर्च गर्ने गरेपनी त्यस्ता कार्यको नियमन र व्यवस्थापन हुन नसक्दा चाडबाड लक्षित अभियानका नाममा लगानी खेर जाने गरेको पाईएको छ ।पोलवत्तीका नाममा वडा नम्बर ७ ले १० लाख बजेट विनियोजन गरेको छ ।
त्यसैगरी वडा नम्बर १३ ले सोलार वत्तीकै नाममा १३ लाख, वडा नम्बर १८ ले १० लाख र २४ नम्बर वडाले समेत १० लाख बजेट बिनियोजन गरेको छ । यस्तै अन्य केही वडाहरुले पनी २ देखी ५ लाख सम्मको बजेट वत्तीका नाममाविनियोजन गरी करिव २ करोड रकम खर्च हुने देखिएको छ ।यता चाडपर्व शुरुभएदेखी नै सडकमा बत्ती जडान गर्न दवाव सहित गुनासो व्यापक गर्ने गरेको वडा अध्यक्षहरुको गुनासो छ ।
वडा नम्बर २ का अध्यक्ष धन बहादुर श्रेष्ठले यो वर्ष वडाको लगानी नरहेको बताएका छन् । उनले अघिल्लो वर्ष जडान गरिएको वत्तीहरुको वारेन्टी रहेकोले सोही बत्तीकहरुको व्यवस्थापन र मर्मत गरिएको बताए ।त्यसैगरी अन्य वडा अध्यक्षहरुको भनाई अनुसार वडामा वत्तीका लागी चर्को दवाव आउने गरेकाले बजेट विनियोजन गर्न बाध्यात्मक अवस्था छ ।
उपमहानगरले करको दायरा बढाउने, उद्योग र व्यवसायिक प्रतिष्ठानलाई करको दायरामा ल्याउन अभियान संचालन गर्नेगरी घाटाको बजेट ल्याइएको अवस्थामा करिव २ करोड बजेट पोलवत्तीका लागी बिनियोजन गर्नुले उपमहानगर आर्थिक र सामाजिक बिकासमा गम्भिर नभएको कतिपय जानकारहरुको भनाई छ ।
नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले पोलवत्तीको लगानी अनावश्यक भएको भन्दै नगरलाई थप घाटाको बाटोमा लान खोजिएको बताए ।उनले अघिल्ला वर्षहरुको पोलवत्तीको मर्मत संभार गरी व्यवस्थापन गर्न सके उपमहानगरले यो आर्थिक वर्षको बजेट अन्यत्र बिकासको कार्यमा प्रयोग गर्न सक्ने भन्दै उनले उपमहानगरका वडाले पोलवत्तीका नाममा लगानी गर्न नहुने जिकिर गरे ।





Write your Comment