

मनहर्वा,बारा ।
लगातारको शितलहर र जाडोका कारण तराईको जनजिवन कष्टकर बनिरहेको छ । मानिसहरु घर बाहिर निस्कन सकिरहेका छ्रैनन् । हाट बजारहरुमा मानिसको चहलपहल घटेको ब्यपारिहरु बताउँछन् ।
जाडोका कारण पशु चौपायाको हेरचाह गर्न कृषि कर्मगर्न कठिन भैरहेको किसानहरुले बताएका छन् । सडकमा यातायातका सवारी साधनहरु समेत कमै मात्रामा चलेका छन् ।
अत्याधिक जाडोका कारण विद्यालयहरु बन्द गरिएका छन् । सिमरा काठमाण्डौं दैनिक एकदर्जन उडान हुँदै आएको सिमरा विमानस्थल हुस्सु र कुहिरोका कारण ठप्प प्राय छ । ३ सातामा ३,४ दिन मात्रै उडान भएको सिमरा विमानस्थल कार्यालयले जनाएको छ ।
लगातारको जाडोका कारण सबैभन्दा बढी गरिब विपन्न समुदायका मानिसहरु प्रभावित बनेका छन् । जाडोमा लगाउने ओड्ने न्याना कपडा नहुँदा ज्यान जोगान समस्या भएको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ लामिडाँडाका सुर्जा माझीले बताए ।
पौष १५ गतेबाट जारी शितलहर र जाडोका कारण झण्डै यो वडाका ५ सय विपन्न परिवार समस्यामा परेका छन् । उनीहरुसँग लगाउन, ओड्न र ओछ्याउन प्रयाप्त न्यानो कपडा छैन । जस्का कारण मानिसहरु विरामी परिहेका छन् । आर्थिक अभावका कारण उनीहरुको उपचारमा समेत समस्या भैरहेको छ माझीले सुनाए ।
यस्तै जाडोका कारण विपन्न मुसहर, चमार जातीका बालबालिकाहरु सबैभन्दा पिडित बनेका छन् । उनीहरुसँग नत खानाका लागि प्रयाप्त पौष्टिक आहार नै छ । नत प्रयाप्त न्याना कपडा नै छन् ।
दूईबर्ष पहिला केही मनकारीहरुले दिएका कपडा लगाउँदै आएका बालबालिकाहरु र उनका अविभावकहरु आजपनि कसैलै न्यानो कपडा ल्याईदिन्छन् की भनेर बाटो हेर्ने गरेको पूर्व जनप्रतिनीधि चिन्ता माझीले बताईन् ।
जाडोले यहाँका गरिब मर्ने भए कसैले बास्ता गरेको छैन । स्थानिय सरकारलाई कुनै मतलब छैन । दैनिक ज्यालाबनी गरेर विहान बेलुकाको छाक टार्ने यहाँका विपन्न जाडोका कारण काममा जान सकेका छैनन् ।
फुसको घरमा पराल ओछ्याउने र ओड्ने गरेर जाडो काटिरहेकाछौ, अर्की स्थानिय शान्ती मुसहरले बताईन् । ओड्न ओछ्याउन कपडा नहुँदा कतीरात आगो तापेर विताउने गरेको उनले सुनाईन् ।
लामीडाँडा विरेन्द्रनगर, कुस्माडी, पराँसटोल, श्रीपुर, मटेरिया लगायतका स्थानका दलित परिवार बालबालिका वृद्धवृद्धाहरुको अवस्था कष्टकर बनेको त्यहाँका स्थानियले बताएका छन् ।





Write your Comment