

सिमरा ।
जीतपुरसिमरा उपमहानगरपालिकामा पछिल्लो समय सहकारी र वित्तिय संस्थामा चोरी हुने क्रम बढ्दै गएको छ । चोरीका घटना बढ्न थालेपछि वित्तिय संस्थाले असुरक्षित महसुस गर्न थालेका छन् ।
चोरीका सबै घटनामा संलग्न व्यक्ति कानुनी दायरामा आउन नसक्दा पनि वित्तिय संस्थाले असुरक्षित महसुस गर्न थालेका हुन् । गएराती मात्रै बाराको सिमरामा दुई वटा सहकारी संस्थामा एकैपटक चोरी भएको छ ।
जीतपुरसिमरा २ स्थित सिमरा महिला बचत तथा ऋण सहकारी संस्था र जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो ।
करिब दुई सय मिटरको दुरीमा रहेका दुवै सहकारीबाट रकम भने चोरी हुन पाएन । ताला फुटाएर कार्यालयभित्र प्रवेश गरेका चोरले रकम फेला नपारेपछि सिसि क्यामराको हार्डडिक्स चोरेर लगेका छन् । दुवै सहकारी संस्थाबाट सिसि क्यामरामा हार्डडिक्स चोरी भएको बुझिएको छ ।
झ्यालको ग्रिल निकालेर भित्र पसेका चोरले जनकल्याण सहकारीमा पैसा राख्ने भल्ट र दराजहरु फुटाएका छन् भने कागजात यत्रतत्र फालेका छन् । भल्ट र दराजमा पैसा नभेटेपछि चोरले क्यामराको हार्डडिक्स चोरेर लगेका हुन् ।
कार्यालयमा पर्खाल नाघेर भित्र पसेका चोर समुहले कर्मचारीले पानी पिउने बोतल समेत बाहिर लगेर छोडेको देखिएको छ । त्यसैगरी झ्यालको ग्रील निकाल्न प्रयोग गरेको हतियार भने छोडेर गएका छन् ।

यता सिमरा महिला सहकारीमा चेन गेटको ताला फुटाएर भित्र पसेका चोरले पैसा नभेटेपछि क्यामराको हार्डडिक्स चोरी गरेका छन् ।
सिमरा महिला सहकारीमा चोरी भएको यो दोस्रो पटक हो । यसअघि २०७९ साउन १२ गते उक्त सहकारी संस्थामा पहिलो पटक चोरी भएको थियो । सो समयमा पनि सिसि क्यामराको हार्डडिक्स लगिएको थियो ।
सिमराका बितिय कार्यालयमा चोरीको घटना बढ्दै गएपनी प्रहरीको अनुसन्धान दायरा प्रभावकारी हुन नसक्दा सहकारीका आम शेयर सदस्यहरुमा नकारात्मक सन्देश परेको छ । यता आम नगरबासीमा नगरको सुरक्षा व्यवस्थामाथी प्रश्न उठेको कतिपयको भनाई छ ।





Write your Comment