जीतपुरसिमरामा व्यापार महोत्सव हुने, मधेश प्रदेशका आठ जिल्लाबाट स्टल बुकिङ्ग

पुष्पराज खतिवडा

 ७ फाल्गुन २०८०, सोमबार १८:०८  मा प्रकाशित
५२५ पाठक संख्या



सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरमा प्रथम जीतपुरसिमरा महोत्सव २०८० हुने भएको छ । महोत्सव आयोजनाका बिषयमा सोमबार पत्रकार सम्मेलन गरी आयोजकले महोत्सव बारे जानकारी दिएको हो ।

स्थानिय उत्पादन संगै पर्यटन प्रवद्र्धनगरी आर्थिक गतिविधि सकृय पार्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको हो । जीतपुरसिमरा उपमहानगरपालिका नगर उद्योग बाणिज्य संघले आयोजना गर्ने महोत्सव आगामी १८ गतेबाट २९ गतेसम्म रहनेछ ।

नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले स्थानिय उद्योगहरुको उत्पादन, कृषि ,पर्यटनको प्रवर्धनसँगै आर्थिक गतिविधि वृद्धिका लागि महोत्सवको आयोजना गर्न लागिएको बताए ।

‘कृषि, पर्यटन, खेल,उद्योग र व्यापार जीतपुरसिमरा, बारा मधेश समृद्धिको मुख्य आधार’ भने मुल नारा सहित नगर वाणिज्य संघले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको हो ।

पालिकाको वडा नं. ३ बजनीमा ह्ुने महोत्वसका लागि आवश्यक तयारी भैरहेको भन्दै महोत्सवमा आधुनिक प्रविधिको प्रदर्शनी, स्थानिय कला, बिभिन्न जाती र जनजातीहरुको संस्कृती झल्कने झाँकी समेत प्रस्तुत गरिने छ । यसैगरी पर्यटन प्रवद्र्धनका लागि मधेश प्रदेशको एकमात्र राष्ट्रिय निकुञ्जको रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्ज, प्रसिद्ध गढिमाई मन्दिर, कंकाली मन्दिर लगायतका मुख्य पर्यटकिय गन्तब्यहरुको प्रचारप्रसारमा महोत्सव सफल हुने उनले बताए ।

स्थानिय व्यापारलाई प्राथमिकतामा राखेर स्टलहरुमा १५ देखी २५ प्रतिशत सम्मको छुटका योजना रहेका छ । २ सय स्टल रहने महोत्सवमा स्थानिय र मधेश प्रदेशका आठ वटै जिल्लाबाट १०० भन्दा बढी स्टल बुक भइसकेको आयोजक संघका महासचिव प्रकाश गिरीले जानकारी दिए । बुक हुने क्रम जारी रहेको र स्टल बुकिङ्गका लागि न्युनतम ८ हजार देखी २५ हजार सम्म रकम तिर्नुपर्ने उनले बताए ।

महोत्सव अवलोकनका लागि विद्यार्थीलाई २५, सर्वसाधारणलाई ५० र बेलुकीका लागि १०० रुपैंया दर्शकले तिर्नु पर्नेछ । जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि भने टिकट नलाग्ने ब्यवस्था गरिएको गिरीले बताए । महोत्सवमा मधेश प्रदेशका एक लाख दर्शक आउने अपेक्षा गरिएको छ ।

महोत्सवमा दैनिक स्थानिय तथा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती समेत रहने छ । नगर उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रमबारेको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका पदाधिकारी सहित पुर्व अध्यक्षहरु रेशम तिवारी, संजय कुमार साह, घनश्याम गिरी सहित स्थानिय साना–ठुला व्यापारीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संघका सदस्य राजुराज गिरीले गरेका थिए ।

Write your Comment