बारामा दादुरा रुबेला विरुद्धको खोप तीन चरणमा सञ्चालन हुने

रातोघर

 २०८० फागुन १०, बिहिबार  मा प्रकाशित
६७६ पाठक संख्या


सरकारको राष्ट्रिय खोप कार्यक्रम अनुसार जनस्वास्थ्य कार्यालय बाराले यही फागुन १३ देखि चैत ८ गतेसम्म अभियान सञ्चालन गर्न लागेको हो । जनस्वास्थ्य कार्यालयले खोप अभियान सञ्चालनको तयारी अघि बढाएको छ ।

बारामा ९ महिना देखि १५ बर्ष उमेर समुहका २ लाख ३० हजार ३ सय १४ जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने लक्ष्य अनुसार तयारी भएको स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादबले बताएका छन ।

जिल्ला भरी ८ सय ७६ खोप केन्द्र स्थापना गरि २ हजार १४ जना स्वास्थ्यकर्मी र २ हजार १४ जना स्वयंसेवक खटाइने उहाँले जानकारी दिए । जनस्वास्थ्य कार्यालय बाराका प्रमुख यादबले दादुरा रुबेला विरुद्धको खोप अभियान कार्यक्रम निर्देशिका अनुसार तयारी थालिएको बताए ।

उहाँले अभियानलाई तीन चरणमा बाँडिएको बताउँदै पहिलो चरणमा फागुन १३ गते देखि १७ गतेसम्म जीतपुरसिमरा उपमहानगरपालिका,प्रसौनी गाउँपालिका,परवानीपुर गाउँपालिका,बिश्रामपुर गाउँपालिका,फेटा गाउँपालिका र कलैया उपमहानगरपालिकामा खोप लगाइने जानकारी दिए ।

यसैगरी दोस्रो चरण अन्तर्गत फागुन २० गतेदेखि २४ गतेसम्म निजगढ नगरपालिका,कोल्हबी नगरपालिका,महागढीमाई नगरपालिका,करैयामाई गाउँपालिका र बारागढी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने उहाँले बताऐ ।

यस्तै तेस्रो चरणको कार्यक्रम अन्तर्गत चैत्र ४ गते देखि ८ गते सम्म सिम्रौनगढ नगरपालिका,पचरौता नगरपालिका आर्दश कोतवाल गाउँपालिका,सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।

जनस्वास्थ्य कार्यालय बाराका प्रमुख यादबले यो खोप अभियान सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले कुनैपनि बालबालिका नछुट्ने गरी काम गर्न पनि निर्देशन दिनुभएको छ ।

सरकारले सन् २०२६ सम्म दादुरा रुबेला रोगलाई निवारण गर्ने लक्ष्य लिएको छ । सन् २०१३ मा पहिलो पटक दादुरासँगै रुबेला विरुद्धको खोप लगाइएको थियो । दादुरा र रुबेला दुवै भाइरसबाट बालबालिकामा सर्ने सरुवा रोग हुन् ।

जिल्ला समन्वय समिति बाराका अध्यक्ष नरेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेको बिशेष उपस्थिति रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban