कुष्ठ रोगको नियमित चेकजाँच गरी औैैषधी सेवन गरौं : डा. प्रकाश पौडेल

पुष्पराज खतिवडा

 ३० फाल्गुन २०८०, बुधबार १७:१६  मा प्रकाशित
५०३ पाठक संख्या



सिमरा ।
कुष्ठ रोगको नियमित चेकजाँच गरी औैैषधी सेवन गर्नु पर्ने डा. प्रकाश पौडेलले बताए । बुधबार बाराको सिमरामा दि लेप्रोसी मिसन नेपालले आयोजना गरेको पत्रकारहरुसँगको कुष्ठरोग एवं सुरक्षा संरक्षण अभिमुखिकरण कार्यक्रममा डा. पौडेलले छाला तथा सतहमा असर गर्ने ब्याक्टेरीया शरिर प्रवेश गरेपछी यो रोग लाग्ने बताए ।
रोगीले सास फेर्दा, बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा कुष्ठरोग अरु मानिसलाई सर्नसक्छ । रोगीको श्वास प्रश्वासको माध्यमबाट अन्य मानिसमा सर्ने कुष्ठ रोग लागेमा मानिसलाई अंगभंग बनाईदिन्छ । शरिरका विभिन्न भागमा नचिलाउने खालका लाटाफुस्रा दाग धब्बा देखिएमा तुरुन्त स्वास्थ्य संस्था जानु पर्ने हुन्छ ।
छालामा रातो वा फुस्रो रंगको दाग देखा परेमा , अनुहारको छाला र कानको लोती बाक्लो र चम्कीलो देखिएमा, शरिरका विभिन्न भागमा गिर्खा देखिएमा कुष्ठरोग शंका गर्न सकिन्छ । यस्तै आँखी भौं झरेमा वा पातलो भएमा, हात खुट्टाका औंलाहरु बाङ्गो भएमा, हात खुट्ट लत्रिएमा , हत्केला वा पैतालामा नदुख्ने घाउ देखा परेमा , हत्केलाका मांशपेसीहरु सुकेर गएमा र नाक थेप्चो भएको आधारमा कुष्ठरोग लागेको भनी शंका गनुपर्ने डा. पौडेलले बताए ।
रोगको संक्रमण सरेको २ देखी ५ बर्षपछी मात्रै यस्ता लक्षण देखा पर्दछ । यसको नियमित परिक्षणगरी औषधी सेवन गर्दा अंगभंग हुनबाट मानिसलाई जोगाउन सकिन्छ ।
माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु (ब्याक्टेरिया)को कारणले मानिसमा कुष्टरोग लाग्ने गर्दछ । संक्रमण हुँदा सुरूसुरूमा कुनै लक्षण देखा पर्दैन देखा पर्ने लक्षणहरूमा स्नायुहरू, श्वासप्रश्वास मार्ग, छाला, र आँखामा समस्या हुनसक्छ उनले बताए ।
कुष्ठरोगीको उपचार प्रयोजनका लागि पौसिबेसिलरी र मल्टिबेसिलरी गरी रोगलाई दुई समुहमा बर्गीकरण गरिन्छ । शरीरमा कतिवटा वास्तविक रङ गुमेको, लाटिएको दाग–धब्बा छ भन्ने कुराको आधारमा वर्गीकरण गरिन्छ । पौसिबेसिलरीमा पाँच वा सोभन्दा कम हुन्छ भने मल्टिबेसिलरीमा पाँचवटाभन्दा बढी दागधब्बा हुने डा. पौडेलले बताए ।
रोगीले रिफामपिसिन,डापशोन र क्लोफाजेमिन नामक औषधी चिकित्सकको सल्लाहमा सेवन गर्नु पर्ने छ । रोगको आधारमा यो औषधी ६ देखी २४ महिना सेवन गर्नु पर्ने हुन्छ । कुष्ठरोगको औषधी सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने उनले बताए ।
आर्थिक बर्ष २०७९।०८०का अनुसार देशभरीमा २ हजार ५२२ जना कुष्ठरोगी छन् । बारा जिल्लामात्रै ६३ जनामा यो संक्रमण पाईएको छ, भने जिल्लाको पचरौता नगरपालिकामा सबैभन्दा धेरै ९ जना रोगी रहेको कार्यक्रममा जानकारी गराईयो ।
अभिमुखि कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, पूर्व अध्यक्ष गुरु प्रसाद गौतम् , जिल्ला स्वास्थ्य कार्यालय बाराका क्षयकुष्ठ अधिकृत शम्भुलाल कर्ण र दि लेप्रोसी मिसन नेपालका जिल्ला सहजकर्ता रामहरी रेग्मी लगायतको सहभागिता थियो ।
कार्यक्रम आईरिस एडको आर्थीक सहयोगमा सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागी पत्रकारहरु ।

Write your Comment