१३ लाख ५० हजार अवैध नेपाली रुपैंया सहित २ जना पक्राउ

पुष्पराज खतिवडा

 २० चैत्र २०८०, मंगलवार १९:०१  मा प्रकाशित
३०२ पाठक संख्या



बारा ।
प्रहरीले १३ लाख ५० हजार अवैध नेपाली रुपैंया सहित हुण्डी कारोबारमा संलग्न रहेका २ जना व्यक्तिहरुलाई पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. १ बनकटवा बस्ने असर्फि राउत कुर्मीको छोरा वर्ष ३४ को हरिकिशोर प्रसाद पटेल र बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नं. १ बस्ने राजिन्द्र महतो कोईरीको छोरा वर्ष ४२ को रमेश प्रसाद कुशवाहा छन् ।

कुशवाह महागढिमाई–१ को बरियारपुरमा संचालित आर.के.मनी टान्फरका संचालक हुन् । उनले संचालन गरेको मनी टान्फरले दुईदिनमा ८ करोड रुपैंयाको शंकास्पद कारोबार गरेको पाईएको छ । उनको कारोबारको विस्तृत अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक शुरेस प्रसाद काफ्ले जनाए । भने अर्का पटेल रकम ओसार पसारमा संलग्न ब्याक्ति भएको पाईएको उनले बताए ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नं.४ मुसहर्वाबाट उनीहरुलाई रकम सहित नियन्त्रणमा लिएको हो ।

मुसहर्वा सडक खण्डमा पक्राउ परेका पटेलले चलाएको प्रदेश २–०३–०१६ प २३३७ नं. को मोटरसाईकलमा भारतबाट नेपालमा श्रोत नखुलेको रकम फेला परेको हो । उनी नियमित रुपमा भारतबाट अबैध रकम ओसार पसारमा संलग्न रहेको पाईएको बारा प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले विभिन्न दरको नेपाली रूपैंया १३ लाख ५० हजार बरामद गरेको हो । पक्राउ परेकाहरु उपर संगठित अपराधमा मुद्दा दर्तागरी अनुसन्धान गरिने बाराका प्रहरी उपरिक्षक काफ्ले जानकारी दिए ।

यो संगै जिल्लामा पछिल्लो एक महिनामा प्रहरी करिब ३५ लाख अबैध नेपाली रुपैया बरामद गरी कानुनी कार्वाही भैरहेको छ । यो घटना तेस्रो भएको उनले बताए ।

 

Write your Comment