बारा ।
विश्व वातावरण दिवसको अवसरमा बुधबार विहान जिल्लाको हलखोरिया साझेदारी वन उपभोक्ता समुह बाराले सरसफाई तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । “हाम्रो भुमि, हाम्रो भविष्य” भन्ने नाराका साथ आयोजित कार्यक्रम मार्फत वनक्षेत्रमा सरसफाई गर्नुकासाथै विभिन्न प्रजातीका २ सय ५० वटा विरुवा रोपिएको हो ।
ब्रह्माकुमारी राजयोग सेवा उपकेन्द्र पिलुवा स्थीत शान्ति बाटिका परिषरमा पिपल, बडहर, मेलेसियन सखुवा, निम, जामुन तथा टिकका विरुवा रोपण गरिएको हलखोरिया साझेदारी वन उपभोक्ता समुह बाराका अध्यक्ष विकल्प भट्टराईले जानकारी दिनु भयो ।
राजयोग सेवा उपकेन्द्र, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र सशस्त्र प्रहरी वल नेपाल ४० नं. रिजर्व गण पिलुवासँगको सहकार्यमा आयोजित कार्यक्रमको जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गर्नु भएको थियो ।
वृक्षरोपण गर्नु पूर्व आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी समेत रहनु भएका उपप्रमुख अधिकारीले सफा अनी स्वच्छ वातावरणका लागि मानवनै सचेत हुन पर्ने बताउनु भयो । “बढ्दो प्रकृति प्रकोप र वायू प्रदुषणले प्राणि जगत समस्यामा पर्ने हुँदा सर्वश्रेष्ठ प्राणि मानव नै यसका लागि क्रियाशिल हुनु पर्छ । वनजंगल र बोट विरुवाको शंरक्षण नै सबैभन्दा महत्वपूर्ण कार्य हुन्,” उहाँले भन्नुभयो ।
कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा समिति क्षेत्रीय कार्यालय बिरगजंकी संचालिका रविना दिदी, डुमरवान क्याम्पस प्रमुख राधेश्याम शिवाकोटी, हलखोरिया साझेदारी वन ब्यवस्थापन समितिका पूर्व अध्यक्ष राजकुमार अर्याल, सशस्त्र प्रहरी वल नेपाल ४० नं. रिजर्व गण पिलुवाका नायव उपरिक्षक होमनाथ पन्थी लगायत एकसय जना बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी सबैलाई राजयोग उपसेवा केन्द्रले महि सहित ब्रह्म भोजन गराएको थियो ।
कार्यक्रम हलखोरिया साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष भट्टराईको अध्यक्षता एवं ब्रह्माकुमारी राजयोग उपसेवाकेन्द्र पिलुवाका राजयोगि गुणराज लामिछानेको स्वागत तथा संचालनमा सम्पन्न भएको थियो । उक्त अवसरमा राजयोगिनी बालिका बालसुन्दरीले स्वागत गितमा नृत्य समेत गर्नुभएको थियो ।
यस्तै जिल्लाका अन्य स्थानमा समेत विभिन्न संस्थाले वृक्षरोपण गरेका छन् । महागढिमाई नगरपालिका वडा नं.१ मा कलैयामा रहेको जनजागरण यूवा क्लबको आयोजनामा टिक, गूलमोहर लगायत जातका विरुवा रोपिएको छ ।
यसैगरी जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१ स्थीत खानेपानी उपभोक्ता समितिले समेत वृक्षरोपणको आयोजना गरी सयौं विरुवा लगाईको संस्थाका सुचना अधिकारी निर्जल घिमिरेले जानकारी दिनुभयो ।
वृक्षरोपण सम्बन्धी कार्यक्रमका फोटोहरु:
Write your Comment