जीतपुरसिमराका सहकारीहरुले सामुदायिक कार्यक्रम गर्नु पूर्व स्विकृती लिनु पर्ने

पुष्पराज खतिवडा

 ४ असार २०८१, सोमबार १८:५९  मा प्रकाशित
४२९ पाठक संख्या



बारा ।

जितपुरसिमरा उपमहानगरपालिका भित्रका सहकारी संस्थाले गर्ने सामाजिक सामुदायिक कार्यक्रम गर्नु पूर्व पालिकासँग पूर्व स्विकृती लिनु पर्ने भएको छ । नगरपालिकाले यसै सन्दर्भमा छलफल गर्न सोमबार पालिका भित्रका सहकारीका प्रतिनीधिलाई बालाएको थियो ।

नगर प्रमुख राजन पौडेलको कार्यकक्षमा भेला भएका सहकारी कर्मीहरुले सहकारी स्वायत्त भएकाले नगरको यो ब्यवस्था ब्यवहारिक नहुने, सम्पानदनमा जटिलता आउन सक्ने भन्दै विरोध गरे ।

यस्तै उनीहरुले सहकारीबाट गएको कर्जा असुलीमा समस्या भैरहेको अवस्थामा सहयोग गर्नुको साटो पालिकाले नियमनको नाममा धम्कीपूर्ण भाषामा परिपत्र गरेको भन्दै मेयर पौडेल समक्ष आक्रोस सहितको गुनासो ब्यक्त गरे । सहकारीहरुलाई सहयोग गर्नुको साटो विभिन्न वहानामा सहकारीलाई आर्थीक भार पार्ने काम नगर्नपनि उनीहरुले सुझाएको थिए ।

सहकारीकर्मीहरुको तमाम गुनासोलाई सम्बोधन गर्नुहूँदैं मेयर पौडेलले नगरभित्रका सहकारी संस्थाहरु पनि विकासका, समृद्धि र सामाजिक रुपान्तरणका संवाहक भएको भन्दै सतर्कता जरुरी भएको बताउनु भयो ।

देशभर कतीपय सहकारी संस्थाहरुमा सहकारी ऐन, नियमको परिपालन र कार्यान्वयन गर्ने , गराउने निकायहरुको कमजोरीले समस्या उत्पन्न भएका छन् । त्यसको भुमरीमा असल काम गरिरहेका हजारौं सहकारीहरुमा समेत समस्या आउने खतरा छ । यस्तो अवस्थामा यस पालिका भित्रका सहकारीहरुले त्यस्तो समस्या भोग्न नपरोस् भन्नेमा हामी सचेत हुनैपर्छ, उहाँले भन्नु भयो ।

यस्तै नगरप्रमुख पौडेलले सहकारी क्षेत्रको योगदानको मापन गर्न कठिन भएको र स्थानिय विकासका काममा सहकारीहरुलाई पालिकासँग जोड्ने र सहकार्य गर्न पनि पूर्व स्विकृती जरुरी ठानिएको बताउनु भयो ।

बार्षिक रुपमा विभिन्न सामाजिक काममा ठुलै रकम र्खच गर्ने गरेका छन् । विद्यालय, स्वास्थ्य संस्था, विपन्न परिवारमा सहयोग , किसानलाई उपकरण, विउ लगायतका सामाग्री वितरणसँगै सिपमुलक तालिम तथा गोष्ठिमा ठुलै रकम खर्च गरिरहेका छन् ।

यद्यपी त्यसको तथ्याङ्क पालिकामा पाँईदैन । जस्का कारण सहकारी क्षेत्रको योगदानको मापन गर्न कठिन छ । त्यसैगरी विकासका काममा सहकारीहरुलाई पालिकासँग जोड्न र सहकार्य गर्न पनि यसले मद्दत गर्छ ।

जहाँसम्म पूर्व स्विकृती सम्पादनमा पालिकाबाट समस्या आउँछकी भन्ने यहाँहरुको आशंकामा ठिकै हो । तर पालिका तहबाट त्यस्तो कुनै समस्या आउन नदिने प्रतिवद्धता ब्यक्त गर्दछु, मेयर पौडेलले भन्नु भयो ।

यससँगै सहकारीबाट कर्जा लिएर तिर्न आलटाल गर्नेहरुलाई समयमै कर्जा तिर्न पालिकाका तर्फबाट सुचना गरी गर्ने । नग सहकारी ऐनको अधिनमा रहेर नगरसहकारी संघ यथासक्य छिटो गरीने उहाँले बताउनु भयो ।

कार्यक्रममा नगर सहकारी शाखा प्रमुख सुधन चौधरी,नगर सहकारी समन्वय समितिका सदस्य मुकुन्द बहादुर क्षेत्री, प्रस्तावित साना किसान कृषि सहकारी संघ मधेश प्रदेशका सचिव प्रदिपसिंह बराल,बारा बचत तथा ऋण सहकारीका सचिव शालिकराम अधिकारी, प्रस्तावित नगरसंघ अध्यक्ष अनिता लम्साल अधिकारी सहित ७५ जनाबढीको सहभागिता रहेको थियो ।

Write your Comment