सिंचाई समस्या समाधनमा स्थानिय सरकारको छैनसाथ ,समस्यामा किसान

पुष्पराज खतिवडा

 १२ असार २०८१, मंगलवार १२:४८  मा प्रकाशित
१६० पाठक संख्या



बारा :
खेती लगाउने बेलामा सँधैजसो पानीको समस्या भोग्दै आएका किसानले धमाधम स्यालो ट्युववेल जाडन गरिरहेका छन् । खोला, पैनी, कुलो नहरहरुमा पानी सुक्ने र आकाशे बर्षाको समेत भर नहुँदा स्यालो ट्युववेल जडान बाध्यता बनेको हो ।

कर्जा लिएर भएपनि खेतीका लागि पानीको ब्यवस्था गर्न परिरहेको किसानहरु बताउँछन् । सामान्यतया ३५ देखी ७० हजार रुपैंया सम्म खर्चेर स्यालो ट्युववेल जडान भैरहेको कलैया उपमहानगरपालिका वडा नं.१६ झिट्कैंयाका किसान गोरख यादवले बताउनु भयो ।

बर्षेनी बाली लगाउने बेला होस् वा आवश्यक समयमा सिंचाइ गर्न स्यालो ट्युववेल अनिवार्य बनेको छ । खोला, पैनी, कुलो सुके, आकाशको भर हुँदैन । त्यसै कारणपनि ऋणधन गरेर भनेपनी खेतखेतमा पानीको जोहो गर्नै पर्छ, उहाँले भन्नुभयोे ।

यस्तै करैयामाई गाउँपालिका वडा नं.१ का किसान रामएकवाल चौधरीले पनी यसबर्ष दुईठाउँमा स्यालो ट्युववेल जडान गरेको सुनाउनु भयो । कर्जा लिएर खेतीका लागि पानीको ब्यवस्था मिलाए । स्यालो ट्युववेल जडान, मोटर पम्प खरिद सहित करिब एकलाख खर्च भयो । यती नगरे बाली हुँदैन । खेत बाँझै राख्ने कुरापनि भएन ,उहाँले बताउनु भयो ।

किसानले ब्यहोरिरहेको सिंचाई समस्यामा स्थानिय सरकारहरु भने गम्भीर देखिएको पाँईदैन । एकाद पालिकाले सानो संख्यामा विद्युतिय मोटरपम्प वितरण गरेपनी स्यालो ट्युववेल जडानको काम गरेको पाईदैन । सरकारले सिंचाईमा विद्युत शुल्कमा ५० प्रतिशत सम्म छुट दिने गरेकोछ । यद्यपी खेतखेतमा विद्युतिकरण हुन नसक्दा त्यो सुविधाबाट वास्तविक धेरै किसान बन्चीत छन् ,चौधरीले भन्नु भयो ।

जीतपुरसिमरा उपमहानगर पालिकाका सहित केही पालिकाले सिंचाई मिटरको विद्युत शुल्क तिरिदिने घोषण गरेपनी कार्यान्वयन भने गरेको छैन ।

कृषि ज्ञान केन्द्र बाराले यसबर्ष दुईसय मोटरपम्प सहित स्यालो ट्युववेल जडानका लागि ८५ प्रतिशत अनुदान दिने गरी सुचना गरेको थियो । तर आवश्यकता भन्दा ४ गुणावढी निवेदन दर्ता भए । दुईसयका लागि आवेदन मागेको ८ सय ६४ निवेदन आयो । यसले गर्दा दवाव, प्रभावका विभिन्न झमेला सहनु परिरहेको ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण प्रसाद साहले सुनाउनु भयो ।

स्यालो ट्युववेल जडानका लागि आवेदन गर्नेको संख्या अझ धेरै छ । यसबर्ष कार्यालयले जिल्लाका सहकारी र अन्यगरी विभिन्न १६ वटा संस्थाहरुसँग मिलेर दुईबालि धान उत्पादन तथा धान र गहुँको बिउ उत्पादनको काम गरिरहेको छ । ती संस्थाहरुको सहयोगमा यस कार्यालयको अनुदानमा स्यालो ट्युववेल जडानको काम भैरहेका छन् । संस्थाहरुमा समेत निवेदन दिने र सुविधा माग्न आउनेको संख्या उस्तै छ, उहाँले भन्नुभयो ।

यसबर्ष कार्यालय आफैंले र संस्थाहरु मार्फत ६ सयबढीलाई स्यालो ट्युववेल जडान गउँदैछ । तर माग बर्षेनी बढीरहेको छ । किसानको माग यस कार्यालयबाट मात्र सम्भव देखिँदैन । स्थानिय पालिकाहरुले समेत सिंचाई ब्यवस्थापनका लागि काम गरे केही दहसम्म राहत हुने देखिन्छ, कार्यालय प्रमुख साहले बुझाई छ ।

जिल्लाको कुल क्षेत्रफल १,२९,५६३ हेक्टर रहेको छ । जसमध्ये ६९,५१६ खेती योग्य जमिन छ । यसैगरी बलौटो ५,११४ हेक्टर र वन क्षेत्रले ४७,१८२ हेक्टर ओगटेका छ ।

यहाँको खेती योग्य जमिनमा धान, गहुँ, मकै, मसुरो, तोरी, उखु, केरा, आँप ,लिचि लगायत अन्न,दलहन, तेलहन तथा फलफूलको खेती हुँने गरेको उहाँले बताउनु भयो ।

२०७८ सालको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार यस बारा जिल्लाको कुल जनसंख्या ७,६३,१३७ रहेको छ । जसमध्ये ३,८९,७८७ पुरुष र ३,७३,३५० महिला रहेका छन् ।

Write your Comment