उप–राष्ट्रपतीले शिलान्यास गर्नु भएको पसाह पुल निर्माण अनिश्चीत

पुष्पराज खतिवडा

 १ श्रावण २०८१, मंगलवार १४:३१  मा प्रकाशित
६२१ पाठक संख्या



बारा : वर्तमान उप–राष्ट्रपती रामसहाय प्रसाद यादवले २ बर्षअघि शिलान्यास गर्नु भएको जैतापुर–रामनगर जोड्ने पसाह खोलामा पक्की पुल निर्माणकार्य अलपत्र परेको छ । जसपा नेपालका तत्कालिन केन्द्रिय कार्यकारिणी सदस्य, पूर्व वन तथा वातावरण मन्त्रीका रुपमा वर्तमान उपराष्ट्रपती यादवले शिलान्यास गर्नुभएको सो पुल निर्माण अनिश्चीत बनेको हो ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ को जैतापुर–रामनगर जोड्ने गरी पसाह खोलामा पक्की पुल बन्ने भएपछी यहाँका स्थानिय खुशी भएका थिए । तर शिलान्यास भएको दुईबर्ष वितिसक्दा समेत निर्माणको सुरसार नहुँदा स्थानियको खुशी निराशामा परिणत भएको छ । सिमरा–कोल्हवी (रजैया) सडकखण्ड अन्तरगत पसाह खोलामा बन्ने पुलको डिपिआर सम्पन्न भई साईड क्लियर गर्ने काम समेत भैसकेको छ ।

२०७९ असोज ९ गते आईतबारका दिन एक भब्य समारोहका बिच एकैदिन एकैखोलामा दुईवटा पुलको उपराष्ट्रपती यादवले शिलान्यास गर्नुभएको थियो । जैतापुर–रामनगर र खमुवा–मधुवन जोड्ने दुई पुल शिलान्यास भएपनी अन्य प्रकृया अगाडी बढेको छैन ।

संघिय निर्वाचनको मिति नजिएकै बेला गरिएको पुल शिलान्यासलाई कतिपयले त्यसबेला जसपाको चुनाव प्रभाव पार्ने खेल भनेका थिए । आखिर त्यस्तै भयो । पुल बनेन । जितपुरसिमरा उपमहानगरपालिका १७ रामनगरका नमराज खड्काले भन्नु भयो । आफ्नै पार्टीका मन्त्री रहेका बेला जसपाले विना बजेट, विना तयारी , चुनावी चर्चाका लागि गरेको शिलान्यास थियो, उहाँले भन्नु भयो ।

४० करोडको लागतमा १६५ मिटरलामो पुल २ बर्षमा निर्माण सम्पन्न गरिने भनेर शिलान्यासका क्रममा हालका उपराष्टपती यादवले उद्घोष गर्नु भएको थियो । सो भनाई अनुसार काम भैदिएको भए अबको ४ महिनापछी पुल संचालनमा आउनु पर्ने थियो । तर पुल निर्माणको सुरसार समेत छैन । यो भने दुःखको कुरा हो, पूर्व वडा अध्यक्ष समेत रहनु भएका खड्काले भन्नु भयो ।

यस्तै बारा क्षेत्र नं.३ मै पर्ने यो पुल निर्माणका लागि पहल लिने तत्कालिन संघिय सांसद रामबाबु प्रसाद यादवले त्यसैबेला नेपाल सरकारले डिपिआर तयार गरिसकेको र बजेट विनियोजन भएको जानकारी दिनु भएको थियो । उहाँले खोलाले बर्षेनी धार परिवर्तन गरेका कारण ९ सय मिटर करिव खोला देखिएपनि दुईसय मिटर लामो मात्रै पुल बन्ने त्यसका लागि ठेक्का प्रकृया सुरु भएको जनाउनु भएको थियो ।

पुल निर्माण प्रकृयाका लागि नगरपालिकाको अगुवाईमा साईड क्लियर गर्ने काम भैरहेको वडा नं.१७ का अध्यक्ष भिम बहादुर गंतानले बताउनु भयो । गंतानका अनुसार जनप्रतिनीधि र सामाजिक अगुवाहरुको रोहबरमा पुल निर्माण हुने क्षेत्रको अनुगमन गरि चारकिल्ला निर्धारण भैसकेको छ ।

पुल नहुँदा एउटै वडाका मानिसलाई वडा कार्यालयबाट सेवालिन समस्या हुँदै आएको थियो । बर्षामा बाढी डुवान र हिलो अनी सुख्खायाममा बालुवा र धुलोका कारण हैरानी खेप्नु पर्ने बाध्यता रहेको वडा नं.१७ रामनगरका आत्मादेव भट्राईले बताउनु भयो । यसका अलावा यो अती नै ब्यस्त सडकखण्ड हो । पुल नहुँदा लामो र जंगलको जोखिमपूर्ण यात्रा तय गर्दै सेवा लिन जानु पर्ने अवस्थाको अन्त्य हुने थियो , तर भएन उनले भने ।

Write your Comment