बारामा सामुदायिक विद्यालय मध्ये सिमरा मावीको सर्वोत्कृष्ट नतिजा, दुई विद्यार्थी ३.७१ जिपिए सहित उतिर्ण

रातोघर

 २१ श्रावण २०८१, सोमबार १३:०२  मा प्रकाशित
७२९ पाठक संख्या



सिमरा ।
जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयका दुई विद्यार्थीले कक्षा १२ को परीक्षामा ३.७१ जिपिए अंक ल्याउन सफल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार उक्त विद्यालयका दुई विद्यार्थी सर्वोत्कृष्ट अंकसहित उतिर्ण भएका हुन् ।

३.७१ जिपिए ल्याउनेमा जीतपुरसिमरा १५ की सामना भट्टराई र जीतपुरसिमरा १ का गौरवमान श्रेष्ठ रहेका छन् । जिल्लाको सामुदायिक विद्यालयमध्येबाट उनिहरुले उत्कृष्ट अंक ल्याउदै कक्षा १२ परीक्षा उतिर्ण गरेको बताइएको छ । विद्यालयका शिक्षक एवम् कक्षा १२ का इन्चार्ज डम्बर खड्काले भट्टराई र श्रेष्ठले जिल्लामै सर्वाधिक अंक ल्याएर उतिर्ण गरेको बताए ।

अघिल्लो वर्ष पनि उक्त विद्यालयका क्षितिज चौधरीले जिल्लामै पहिलो र मधेस प्रदेशमै दोस्रो सर्वाधिक अंक ल्याएर कक्षा १२ को परीक्षा उतिर्ण गरेका थिए । चौधरीले ३.८३ जिपिए ल्याएका थिए । चौधरी अहिले काठमाडौंस्थित प्राइम कलेजमा पूर्ण छात्रवृत्तिमा चार्टर एकाउन्टेन्ट अध्ययन गरिरहेका छन् ।

एकैसाथ वाणिज्य, शिक्षा, मानविकी र विज्ञान संकाय संचालन गरिरहेको उक्त विद्यालयका दुई सय ८३ जनाले कक्षा १२ को परीक्षा दिएका थिए । जसमध्ये एक सय १५ जना उतिर्ण भएका छन् भने ७५ जना एक विषय र ४१ जना विद्यार्थी दुई विषयमा अनुतिर्ण भएका छन् ।

यसैबिच कक्षा १२ को परिक्षामा निजि विद्यालय तर्फपनी सिमराकै एक छात्रा सर्वोत्कृष्ट जिपिए सहित उतिर्ण भएकी छन् ।

सिमरास्थित सिमरा पब्लिक इङ्लिस स्कुलकी छात्रा काजल मण्डलले ३.९१ जिपिए ल्याउदै कक्षा १२ को परीक्षा उतिर्ण गरेकी छिन् । उक्त स्कुलको वाणिज्य संकायमा अध्ययनरत छात्रा मण्डलको जिपिए अंक जिल्ला सहित मधेस प्रदेशकै उत्कृष्ट हुनसक्ने सम्भावना छ ।

Write your Comment