बडहर्वामा दुग्धका परिकारको बिक्री सुरु, वडा अध्यक्ष वाग्लेद्वारा उद्घाटन

रातोघर

 १८ भाद्र २०८१, मंगलवार १९:१६  मा प्रकाशित
३१० पाठक संख्या



मनहर्वा, बारा :जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ बडहर्वा स्थीत साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले दुग्धका परिकारको विक्रीवितरण सुरु गरेको छ । मंगलबार वडा अध्यक्ष चतुरबाबु वाग्लेले संस्थाले सुरु गर्ने दुग्ध परिकारको विक्री कक्षको रिबन काटेर उद्घाटन गर्नु भयो ।

दुग्धका परिकारको विक्रि कक्षको उद्घाटन गर्नुहुँदै वडा अध्यक्ष वाग्लेले दुग्ध परिकार मानव स्वास्थ्यका लागि बरदान भएको भन्दै नियमित सेवन गर्नु पर्ने बताउनु भयो ।

अन्य पेय पदार्थको सट्टा मोही र पौष्टिकका नाममा बट्टा राखिने खाध्यवस्तु भन्दा दुग्ध, दहि,घ्यु खाने गर्दा बढी फाईदा हुन्छ । शरिरलाई फाईदा हुने त छंदैछ , सबैले दुग्धका परिकार खाईदिँदा किसान र कृषि पेशामा पनि योगदान पुग्ने उहाँले बताउनु भयो ।

वडा अध्यक्ष वाग्लेले उद्घाटन गरेसँगै डुमरवाना दुध उत्पादक सहकारी संस्थाले उत्पादन गरेका दुध, दही, मोही ,घ्यु, नौनी, पनिर ,खुवा लगायतका परिकार अब साना किसान सहकारी संस्थाको कार्यालय बडहर्वामै पाईने भएको हो ।

यस्तै डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष होमनाथ पंडितले दुग्ध उत्पादनमा लाखौं किसानको जीवन जोडिएको र यो पेशामा अरबौंको लगानी रहेको बताउनु भयो । दुग्धले किसान परिवारमा खुशीसँगै समृद्धी जोडेको बताउँदै अध्यक्ष पंडितले स्वरोजगारको बलियो माध्यम दुग्ध ब्यवसाय बनेको बताउनु भयो ।

यसैगरी साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी अध्यक्ष नयनकला खड्काले अब नियमित रुपमा संस्था मार्फत दुग्धका परिकार सरल रुपमा सुलभ मुल्यमा विक्रि वितरण सुरु भएको बताउनु भयो । हाल संस्थामा घ्यु, नौनी, पनिर र मोही उपलब्ध रहेको र बाँकी परिकार अडर अनुसार उपलब्ध गराईने छ ।

हाम्रै किसानले उत्पादन गरेको दुग्धका परिकार स्थानिय रुपमै उपलब्ध गराउने हेतुले संस्थामा विक्रि कक्षको स्थापना गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष पंडित, उपाध्याक्ष नारायण घिमिरे,कोषाध्यक्ष निलकण्ठ सापकोटा, लेखा समिति संयोजक तेज प्रसाद चौलागाई, संचालक समिति सदस्य शिवकुमार कार्की,सल्लाहकार विजय मैनाली,प्रबन्धक संतोष भुजेल,संकलन प्रमुख माधव अधिकारी,वरिष्ठ बजार सहायक शालिकराम पुडासैनी र साना किसान मनहर्वाका कृषि प्राविधिक जलेन्द्र प्रसाद चौधरी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिलाई दुग्ध उत्पादक सहकारी संस्थाले उत्पादन गरेको मोही खुवाईएको थियो । साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी अध्यक्ष नयनकला ख्डकाको अध्यक्षता र मुख्य प्रबन्धक पुष्पराज खतिवडाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Write your Comment