


बारा: बाराको जीतपुरस्थित प्राथमिक स्वास्थ्य संस्थामा क्षयरोग (टि.बि.) विरुद्ध समुदायस्तरमा सचेतना फैलाउने तथा उपचाररत बिरामीलाई सहयोग गर्ने उद्देश्यले १५ सदस्यीय ‘टि.बि. क्लब’ गठन गरिएको छ।
नेपाल सरकारको राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत ग्लोबल फण्ड र युएनडिपीको साझेदारी तथा बागमती सेवा समाज नेपालको सहकार्यमा आयोजित कार्यक्रममा क्षयरोगको सफल उपचारपछि पूर्ण रूपमा निको भएका व्यक्तिहरूको सहभागितामा क्लब गठन गरिएको हो।
परियोजनाका बारा जिल्ला फिल्ड संयोजक प्रदीप चौरसियाका अनुसार क्लब गठनको मुख्य उद्देश्य उपचाररत बिरामीलाई मनोसामाजिक सहयोग, परामर्श, स्वास्थ्य शिक्षा तथा नियमित औषधि सेवनका लागि प्रेरित गर्नुका साथै समुदायमा क्षयरोगसम्बन्धी सचेतना अभिवृद्धि गर्नु हो।
कार्यक्रममा पूर्ण रूपमा निको भएका १५ जना क्षयरोगी, जिल्ला क्षयरोग नियन्त्रण कार्यालयका प्रतिनिधि, स्वास्थ्य संयोजक, शिक्षक, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले क्षयरोग क्लबको आवश्यकता, उपचार अनुभव आदानप्रदान, उपचाररत बिरामीलाई परामर्श र मनोसामाजिक सहयोग उपलब्ध गराउने विषयमा विस्तृत छलफल गरेका थिए।
परियोजनाका बारा जिल्ला संयोजक बिहारीप्रसाद कुशवाहाले समुदायमा क्षयरोगसम्बन्धी भ्रम, विभेद र सामाजिक कलंक हटाउन क्लबले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनका अनुसार समयमै रोग पहिचान, नियमित उपचार र जनचेतना विस्तारमा यस्तो अभियान महत्त्वपूर्ण हुने छ।
कार्यक्रमबाट सोमिन्त्रा देवी सहनीको अध्यक्षतामा १५ सदस्यीय क्षयरोग क्लब गठन गरिएको छ। क्लबले प्रत्येक महिना नियमित बैठक गर्दै उपचाररत बिरामीलाई परामर्श, प्रेरणा तथा आवश्यक सहयोग उपलब्ध गराउने, समुदायमा क्षयरोगको शीघ्र पहिचान, उपचार र सामाजिक कलंक न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
त्यसैगरी क्लबका गतिविधिलाई प्रभावकारी बनाउन जीतपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी प्रवीणकुमार झाको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। उक्त समितिले राष्ट्रिय क्षयरोग कार्यक्रम, बागमती सेवा समाज नेपाल तथा सम्बन्धित निकायसँग समन्वय गर्दै क्लबका गतिविधिमा प्राविधिक मार्गदर्शन, अनुगमन र आवश्यक सहयोग गर्ने जनाइएको छ।




Write your Comment