निजी विद्यालयलाई उपमहानगरको चेतावनी : शिक्षक–कर्मचारीलाई कानुनअनुसार तलब र सेवा–सुविधा दिनैपर्ने

रातोघर

 २०८३ अषाढ १६, मंगलबार  मा प्रकाशित
९ पाठक संख्या


बारा:जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्र सञ्चालित सबै संस्थागत (निजी) विद्यालयलाई शिक्षक तथा कर्मचारीलाई नेपाल सरकारले तोकेबमोजिमको तलब स्केल र सेवा–सुविधा अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।
उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले असार १२ गते जारी गरेको पत्रमार्फत शिक्षा ऐन, शिक्षा नियमावली तथा संस्थागत विद्यालय सञ्चालन निर्देशिकामा उल्लेखित व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गर्न सबै निजी विद्यालयलाई आग्रह गरेको हो।
उपमहानगरपालिकाका अनुसार विभिन्न संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले कानुनअनुसार पाउनुपर्ने तलब तथा सेवा–सुविधा नपाएको गुनासो गरेपछि नगर कार्यपालिकाको असार ११ गतेको निर्णयअनुसार यो निर्देशन जारी गरिएको हो।
उपसचिव (दशौँ) शिवजी प्रसादद्वारा हस्ताक्षरित पत्रमा प्रचलित कानुनबमोजिम शिक्षक तथा कर्मचारीको तलब, सेवा–सुविधा र श्रम अधिकार सुनिश्चित गर्न सबै विद्यालयलाई निर्देशन दिइएको छ।
पत्रमा शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) को व्यवस्था स्मरण गराउँदै नेपाल सरकारले तोकेको तलब स्केलभन्दा कम पारिश्रमिक शिक्षकलाई दिन नपाइने स्पष्ट उल्लेख गरिएको छ। साथै, संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ तथा शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को अनुसूची–२२ अनुसार शिक्षक तथा कर्मचारीलाई कानुनबमोजिमका सबै सेवा–सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको पनि उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाले सबै संस्थागत विद्यालयलाई कानुनी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गरी शिक्षक तथा कर्मचारीको पेशागत अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ। शिक्षक–कर्मचारीको सेवा–सुविधा सम्बन्धी गुनासो दोहोरिन नदिन र विद्यालय प्रशासनलाई श्रम तथा शिक्षा सम्बन्धी कानुनको पूर्ण पालना गर्न पनि नगर कार्यपालिकाले निर्देशन दिएको छ।
 

Write your Comment


लोककल्याणकारी विज्ञापन