

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो।
जीतपुरसिमरा–१ दसधुरा निवासी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा साउन ३१ गतेदेखि सम्पर्कविहीन भएकी थिइन्। परिवारले खोजी गरिरहेको अवस्थामा भदौ २ गते वीरबहादुर रोकाको एकतले घरको खाली कोठाभित्र बालिका मृत अवस्थामा फेला परेकी थिइन्।
बालिका मृत भेटिएपछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको टोलीले घटनाको अनुसन्धान थालेको थियो। अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रदेश प्रहरी कार्यालय वीरगञ्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट जीतपुरसिमरा–२ निवासी १६ वर्षीय म्याजिक सहचालक सुमन थापाले चकलेट दिने प्रलोभन देखाएर बालिकालाई फकाई लगेको र त्यसपछि जबरजस्ती करणी गरी हत्या गरेको खुलेको प्रहरीको भनाइ छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुमन थापासँगै ना.१ ज ७७५८ नम्बरको म्याजिकका २४ वर्षीय चालक प्रोग्रेस चौधरीलाई समेत पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत बाराबाट चार दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवरले जानकारी दिएका छन्।





Write your Comment