असोज १५ देखि डुमरवानामा रोमाञ्चक भिडन्त, दोस्रो किरण स्मृति फुटबल प्रतियोगितामा १६ टोली मैदानमा

रातोघर

 २०८३ भाद्र १७, बुधबार  मा प्रकाशित
८ पाठक संख्या


डुमरवाना। स्वर्गीय किरण कुमार गुरुङको स्मृतिमा दोस्रो किरण स्मृति फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित सुन्दरबस्ती फुटबल ग्राउण्डमा आगामी असोज १५ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजक एन.एस्.वाई. सी. सुन्दरबस्तीले जनाएको छ।

करिब ५ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगितामा बारा, पर्सा, रौतहट, मकवानपुरलगायत विभिन्न जिल्लाका १६ वटा क्लब तथा टोलीले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका सचिव लालबहादुर गुरुङ ‘साइला दाइ’ ले प्रतियोगिताको तयारी, उद्देश्य तथा व्यवस्थापनबारे जानकारी गराएका थिए। उनका अनुसार स्वर्गीय किरण कुमार गुरुङको २०७९ साल असोज १५ गते निधन भएको दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष उनको सम्झनामा प्रतियोगिता आयोजना गर्ने उद्देश्य राखिएको छ।

क्लबका अध्यक्ष सञ्जय तामाङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा स्वर्गीय किरणको परिवारको तर्फबाट उनकी दिदी सर्वद गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। भाइ किरणको सम्झनामा बोल्ने क्रममा सर्वद भावुकसमेत भएकी थिइन्।

प्रतियोगितामा विजेता तथा उपविजेता टोलीलाई स्वर्गीय किरण कुमार गुरुङको परिवारको तर्फबाट नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितालाई जीतपुरसिमरा उपमहानगरपालिका–१५ को आर्थिक सहयोग तथा एक्सचिल्ड्रेन सर्भिस स्कुलसहित विभिन्न संघसंस्थाको प्रायोजन रहने सचिव गुरुङले बताए।

कार्यक्रममा बारा लोकतान्त्रिक खेलकुद विकास मञ्चका अध्यक्ष ओम पाण्डे ‘बाबु’, अग्रज पत्रकार भोजराज भट्टराई, विदुर खड्का लगायत स्थानीय समाजसेवी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

मञ्चका अध्यक्ष पाण्डेले विषम परिस्थितिका बीच पनि स्वर्गीय किरणको स्मृतिमा खेलकुद प्रतियोगिता आयोजना गर्नु आफैँमा महत्वपूर्ण कार्य भएको भन्दै प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरे।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban