

बारा, जितपुरसिमरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका कार्यसमितिको नयाँ नेतृत्व गुट–उपगुटको प्रतिस्पर्धाभन्दा माथि उठेर आपसी सहमति र एकताका आधारमा चयन गरिएको छ।
नेपाली कांग्रेस जितपुरसिमरामा यसपटक विभिन्न समूहबीचको प्रतिस्पर्धालाई निरन्तरता नदिई सबै पक्षलाई समेटेर सहमतिका आधारमा अधिवेशन सम्पन्न गरिएको हो। नेतृत्व चयनका क्रममा पार्टीभित्रका विभिन्न तहका नेता तथा कार्यकर्ताबीच छलफल, संवाद र समन्वय गर्दै साझा सहमति निर्माण गरिएको बताइएको छ।
सहमतिको वातावरण बनेपछि रमेशप्रसाद पण्डित नगर सभापतिमा चयन भएका छन्। त्यस्तै ज्ञानी पासवान देवी र उदयबहादुर श्रेष्ठ उपसभापतिमा, विनोद अधिकारी सचिवमा तथा दिपक दाहाल सहसचिवमा चयन भएका छन्।नगर कार्यसमितिका अन्य पद तथा सदस्यहरूमा समेत विभिन्न वडा, क्षेत्र, समुदाय र समूहको प्रतिनिधित्व हुने गरी सहमतिका आधारमा जिम्मेवारी बाँडफाँट गरिएको जनाइएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख अतिथि सहमहामन्त्री फर्मुला मन्सुर रहेका थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा संविधानसभा सदस्य तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य मधु शाही ठकुरी सहभागी भएकी थिइन्। त्यस्तै वरिष्ठ नेता कृष्णव्रत सिंह तथा युवा नेताहरू मेघा शाही र नवराज त्रिपाठी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका विभिन्न वडाका कांग्रेस नेता तथा कार्यकर्ता उल्लेख्य रूपमा सहभागी भएका थिए। सहभागीहरूले पार्टीभित्र देखिँदै आएको गुटगत विभाजनलाई भन्दा संगठनलाई बलियो बनाउँदै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।कार्यक्रमको स्वागत युवा नेताहरू मेघा शाही र नवराज त्रिपाठीले गरेका थिए भने कार्यक्रमको सञ्चालन नगर सचिव यज्ञ तिवारीले गरेका थिए।
अधिवेशनमा सहभागी नेताहरू तथा कार्यकर्ताले स्थानीय तहमा कांग्रेसको संगठनलाई थप मजबुत बनाउन सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन्। उनीहरूले नयाँ कार्यसमितिले पार्टीका सबै पक्षलाई समेट्दै कार्यकर्ता परिचालन, संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्।
जितपुरसिमरामा सहमतिमै नयाँ नेतृत्व चयन हुनु कांग्रेसभित्र आन्तरिक एकता, सहकार्य र समन्वयको सन्देशका रूपमा देखिएको छ। नयाँ कार्यसमितिका लागि अब संगठनलाई थप चलायमान बनाउने, कार्यकर्ताबीच समन्वय बढाउने र स्थानीय तहमा पार्टीको गतिविधि विस्तार गर्ने जिम्मेवारी थपिएको छ।






Write your Comment