

सिमरा । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले यही असोज १९ गते सोमबारदेखि सस्तो मूल्य तथा कम स्पिडका इन्टरनेट प्याकेजहरू बन्द गर्ने निर्णय गरेको छ ।बजारमा बढ्दो मूल्यवृद्धि, इन्धन तथा प्रविधिसम्बन्धी उपकरणको महँगी र सञ्चालन खर्चमा भएको वृद्धिका कारण हाल उपलब्ध सुपथ मूल्य र न्यून स्पिडका इन्टरनेट प्याकेजलाई निरन्तरता दिन कठिन भएको आइस्पानले जनाएको छ ।
आइस्पानका अनुसार पछिल्ला वर्षहरूमा निरन्तर बढिरहेको मूल्यवृद्धि तथा आर्थिक चुनौतीका कारण इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा सञ्चालन गर्न कठिन हुँदै गएको छ । विशेषगरी मध्यपूर्वमा जारी तनावका कारण इन्धनको मूल्य बढ्नु, फाइबरको मूल्यमा वृद्धि हुनु तथा उच्च मुद्रास्फीतिका कारण सेवा सञ्चालन लागत उल्लेख्य रूपमा बढेको संघको भनाइ छ ।त्यसैगरी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विस्तारसँगै इलेक्ट्रोनिक सामग्री तथा चिपसेटको माग र मूल्य बढ्दा इन्टरनेट सेवा प्रदायकमाथि थप आर्थिक भार परेको आइस्पानले जनाएको छ ।यी विभिन्न कारणले गर्दा सुपथ मूल्य र कम स्पिडका प्याकेजहरूलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुगेको संघले स्पष्ट पारेको छ । निर्णयबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति आइस्पानले क्षमायाचना समेत गरेको छ ।
आइस्पानले पछिल्लो १२ वर्षमा नेपालको इन्टरनेट क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गरेको छ । फिक्स्ड ब्रोडब्यान्डको पहुँच तथा घनत्वका आधारमा नेपाल दक्षिण एसियामै अग्रस्थानमा रहेको संघको भनाइ छ ।नेपालको इन्टरनेट सेवा विश्वकै सस्तोमध्ये एक रहेको दाबी गर्दै आइस्पानले अधिकांश घरधुरीसम्म इन्टरनेट सेवा पुर्याउन सफल भएको जनाएको छ । सेवा प्रदायकहरूले सकेसम्म सुपथ मूल्यमा सेवा दिँदै आएको र विभिन्न कठिन परिस्थितिका बाबजुद सेवा निरन्तर सञ्चालन गरिरहेको संघले उल्लेख गरेको छ ।
कोरोना महामारीदेखि भोटेकोशीको बाढीजस्ता प्राकृतिक विपद्का समयमा समेत इन्टरनेट सेवा प्रदायकहरूले अत्यावश्यक सेवा निरन्तर उपलब्ध गराएको स्मरण गर्दै आइस्पानले डिजिटल नेपालको अभियानमा खटिएका सम्पूर्ण कर्मचारीप्रति धन्यवाद व्यक्त गरेको छ ।संघले आफ्ना सम्पूर्ण सदस्य इन्टरनेट सेवा प्रदायकहरूलाई अझ गुणस्तरीय सेवा प्रदान गर्दै डिजिटल नेपालको सपना साकार पार्ने अभियानमा निरन्तर लाग्न निर्देशन दिएको छ ।साथै, नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेटअनुसारको मूल्य विवरण आफ्नो वेबसाइटमा ग्राहकले सहज रूपमा देख्न सक्ने गरी राख्न आइस्पानले सबै सेवा प्रदायकलाई आग्रह गरेको छ ।आइस्पानले ग्राहकहरूलाई इन्टरनेट सेवाको भुक्तानी गर्दा अनिवार्य रूपमा भ्याट बिल लिनसमेत अनुरोध गरेको छ ।





Write your Comment