सङ्क्रमितलाई प्रशासनको चेतावनी: घर बाहिर निस्किए ‘एक महिना कैद’

रातोघर

 २०७७ कार्तिक २१, शुक्रबार  मा प्रकाशित
५५७ पाठक संख्या


 

जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमण द्रुतगतिमा फैलिएको गत कार्तिक एकगते देखि निषेधाज्ञा गरेको अहिलेसम्म लागु नै छ । चाडपर्वहरू र राजनैतिक दलको कार्यक्रमहरूमा हुने सम्भावित भिडभाडलाई हेर्दै मङ्सिर ६ गतेसम्म निषेधाज्ञा गरे पनि अहिले भने सङ्क्रमितहरू घरबाट बाहिर निस्किन थालेपछि प्रशासनले चेतावनी दिएको छ ।
समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू नै कोरोना सङ्क्रमण भएर पनि आइसोलेसनमा नबसेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय कोरोना सङ्क्रमितहरू खुलेआम हिँडडुल गरिरहेको सूचना आएको भन्दै बिहीबार चेतावनी सहितको अनुरोध प्रशासनले निकालेको छ ।
लक्षण विनाका सङ्क्रमितहरू पनि सार्वजनिक स्थलहरूमा हिंडिरहेको सूचना आएकोले प्रहरीलाई त्यस्तो व्यक्ति भेटिए कारबाही गर्न निर्देशन गरेको छ । सहायक प्रजिअ महेश पोख्रेलले जारी गरेको अनुरोधमा कोरोना संक्रमणदर अत्यन्तै बढेकोले जिल्लाका सबै मातहतका निकायलाई निर्देशन समेत गरेकाे बताइएको छ ।
सङ्क्रमणको अवस्था जिल्लागत रूपमा हेर्ने हो भने मुलुककै सङ्क्रमण धेरै रहेको चौथो स्थानमा सुनसरी रहेको छ । बिहीबारसम्मको प्रदेश एक सरकारको तथ्याङ्क अनुसार सुनसरीमा ६ हजार ८ सय १८ जना सङ्क्रमित हुँदा ७५ जनाको मृत्यु भएको देखिन्छ ।
सङ्क्रमण तीव्र रूपमा बढ्दै जाँदापनि समाजका लब्धप्रतिष्ठित व्यक्तिहरू सङ्क्रामक रोग नियन्त्रणको लागि प्रोटोकल पालना गर्नु पर्नेमा ठिक विपरीत देखिएको प्रशासनको भनाई छ ।
डाक्टर, इन्जिनियर, कर्मचारी, सामाजिक कार्यकर्तालगायत लब्धप्रतिष्ठित व्यक्तिहरू नै स्वास्थ्य प्रोटोकलको बेवास्ता गरी सार्वजनिक स्थानमा घुमफिर गर्ने गरेको सूचना प्रशासनमा आएको पत्रमा जनाएको छ । विशेष गरी होम आइसोलेसनमा बसेका सङ्क्रमित व्यक्तिहरूले प्रोटोकल अनुसार कम्तीमा १४ दिन कतै नगई कोठाभित्रै बस्नुपर्नेमा बेवास्ता गरी बाहिर निस्कने गरेका छन् ।
‘ठुलाहरूले जे गरे पनि हुने भन्ने गुनासो आउन थाल्यो, त्यही भएर यस्तो सूचना निकाल्नुपरेको हो’,सहायक प्रजिअ पोखरेलले सञ्चार माध्यममा भनेका छन्,‘त्यसरी पोजेटिभ व्यक्तिहरू हिँड्डुल गरेको भेटिएमा ऐनले निर्दिष्ट गरेअनुसार कारबाही हुन्छ, र प्रहरीले आइसोलेसन सेन्टरमा लगेर राख्छ ।’
बाहिर निस्किए एक महिना कैद सँगै जरिवाना                 
सुनसरी जिल्लामा कोरोना सङ्क्रमण सङ्क्रमितकै कारण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना सङ्क्रमित भएर पनि आइसोलेसनमा नबसेको पाएमा १ सय रुपैयाँ जरिवाना सहित एक महिना कैदसम्म गर्ने योजना बनाएको देखिन्छ ।
सङ्क्रामक रोग ऐन २०२० अनुसार सरकारले महामारी नियन्त्रण गर्ने क्रममा जारी गरेको आदेश नमान्ने व्यक्तिलाई १ महिनासम्म जेल राख्न सक्ने प्रावधान छ । सोही कानूनको प्रयोग गरेर प्रशासनले अब सङ्क्रमितलाई पनि कडाइ गर्ने भएको हो ।
पत्रमा उल्लेख गरेरै प्रहरीलाई निर्देशन दिएको प्रशासनले सङ्क्रामक रोग ऐन २०२० अनुसार अनुरोध तथा निर्देशनको अवहेलना गर्नेलाई कारबाही गर्ने छ । ऐनको दफा ३ (१) मा भनिएको छ ’यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अवहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रु. १०० सम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
ऐन अनुसार कारबाही अगाडी बढाउन दशैं अघि देखि नै निर्देशन दिइसकिएको भए पनि कार्यान्वयनमा कडाइका साथ ल्याइएको थिएन । अब भने कडाइका साथ यो निर्देशनलाई लागु गर्ने योजना प्रशासनको छ । 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban