धनुषा प्रहरीको अभियान : मास्क नलगाउनेलाई २ घण्टा नियन्त्रणमा लिएर छाड्दै

रातोघर

 २०७८ बैशाख ९, बिहिबार  मा प्रकाशित
४३५ पाठक संख्या


९ वैशाख, जनकपुरधाम । कोरोना संक्रमण बढ्दै जाँदा मास्क लगाउन नचाहनेलाई धनुषामा प्रहरीले कारबाही शुरु गरेको छ । मास्क लगाउन अटेर गर्नेलाई दुईघण्टासम्म जिल्ला प्रहरी कार्यालयमा ‘होल्ड’ गर्न थालिएको छ ।

मास्क लगाउन आग्रह गर्दा पनि नमानेपछि यो अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए । ‘पहिलो चरणमा मास्क लगाउन सबैलाई आग्रह गरेका छौं,’ उनले भने, ‘आग्रहलाई बेवास्ता गरेपछि नियन्त्रणमा लिएर दुई घण्टा थन्काउने अभियान शुरु गरेका हौं ।’

उनले जनकपुरधामसहित विभिन्न ठाउँमा मास्क नलगाएका व्यक्तिलाई प्रहरी कार्यालयमा ल्याएर दुई घण्टा राखेर छाडिएको जानकारी दिए । बिहीबार मात्रै जिल्लाभरिका १० हजारभन्दा बढी मास्क नलगाउने व्यक्तिलाई नियन्त्रणमा लिएर छाडिएको मिश्रले बताए ।

‘यो अभियानबाट पनि मास्क लगाएको नपाइए जरिवाना लिने काम शुरु हुन्छ,’ उनले भने, ‘शुक्रबारबाटै मास्क नलगाउनेसँग जरिवाना लिइन्छ ।’

पछिल्लो २४ घण्टामा मात्रै धनुषामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये २५ जना जनकपुरधामकै छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban