

जेष्ठ १५,सिमरा/ सशस्त्र प्रहरीका एकजना वरिष्ठ हवलदारसहित चारजना विरुद्ध बारा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
सशस्त्र प्रहरी वरिष्ठ हवलदार अशोक साह सोनार, सहायक हवलदार आत्माराम पटेल, सहायक हवलदार रत्नसागर झा र सशस्त्र प्रहरी जवान सुनिल कुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालतले जनाएको छ ।
रकम दिएर भारतबाट हतियार मगाएर दुईजना भारतीयलाई सशस्त्र प्रहरीले पक्राउ गरेको आरोपमा अनुसन्धान गर्न सशस्त्र प्रहरीको चारजना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालतका श्रेस्तेदार नवराज जोशीले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले हतियार काण्डमा नाम मुछिएपछी सशस्त्र प्रहरीका चारजनालाई बोलाएर एकपल्ट बयान लिएर हाजिरी जमानतमा छोडेको बताउनु भयो ।
चारजना सशस्त्र प्रहरीले भारतीय नागरिक लालबाबु कुश्वाहालाई पैसा दिएर हतियार खरिद गराई दुईजना भारतीयलाई नेपाल बोलाएर हतियार सहित पक्राउ गरेको बयानबाट खुलेपछि उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले गएको बैशाख २३ गते भारतको पुर्वी चम्पारणको लौखानका २३ बर्षीय पप्पु कुमार यादव र अखिलेश कुमार सिंहलाई सिम्रौनगढ नगरपालिका वडा नम्बर १० बाट बी आर ०१ सी १३६१ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा दुई थान पेस्तोल र चार राउन्ड गोली सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका दुबैजना भारतीय युवकलाई सशस्त्र प्रहरीले हतियार खरिदगर्न पैसा दिएका भारतीय नागरिक लालबाबु कुश्वाहाले पठाएको बयानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले सशस्त्र प्रहरी बिभागका सुरक्षाकर्मी संगै जोडिएको हातहतियार ओसारपसार सम्बन्धी मुद्दामा उनीहरुलाई पक्राउ गर्न बारा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको जानकारी दिनु भयो ।





Write your Comment