

जेठ ३१, काठमाडौं:
साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई दिउँसो (मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म) बाहिर घाममा काम नगर्न आग्रह गरेको छ ।
यदी कुनै कम्पनी वा रोजगारदाताले नियमको अवज्ञा गरेर कुनै कामदारलाई आगामी तीन महिनाको अवधिमा मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म बाहिर घाममा काम गर्न लगायो वा काम गर्न बाध्य पा¥यो भने श्रम मन्त्रालयको टोल फ्री नं. १९९११ मा सम्पर्क गरेर उजुरी गर्न समेत अनुरोध गरिएको छ ।
कम्पनीको सुपरभाइजरले वा क्याम्प बोस वा यस्तै अन्य व्यक्तिले कामदारको गल्ती नै नभएको बेलामा पनि कुटपिट गर्ने तथा विभिन्न प्रकारका शारीरिक हिंसा गर्ने गरेको गुनासो आउने गरेको दूतावासले जनाएको छ । यस्तो अवस्थामा प्रहरीलाई ९११ नम्बरमा तुरून्तै सम्पर्क गर्न दूतावासले त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको छ ।
‘कुटपिट र शारीरिक हिंसा बाहेक कम्पनी वा रोजगारदातासँग कामदारको समस्यासँग सम्बन्धित विषयमा कुनै गुनासा छन् भने श्रम मन्त्रालयको टोल–फ्री नं १९९११ मा सम्पर्क गर्न सक्नुहुनेछ,’ दूतावासले भनेको छ । नेपाली कामदारको लागि साउदी अरब वैदेशिक रोजगारको प्रमुख गन्तव्यमध्ये एक हो । साउदीमा चार लाखको हाराहारीमा नेपाली कामदार रहेका छन् ।





Write your Comment