

वीरगञ्जको लिंक रोडमा रहेको माछापुच्छ्रे र एनआईसी एसिया बैंकको एटीएम मेसिन फोडेर पैसा चोरीगर्न लागेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पैसा चोर्ने उद्धेश्यले आइतबार राती करिब ११ बजेतिर एटीएम मेसिन फोडिरहेको अवस्थामा २ जनालाई वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लिराज सापकोटाले पक्राउ गरिएको बताए ।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका ५ का अजय चौधरी र कलैया उपमहानगरपालिकाका राजकपुर चौधरी रहेका छन् ।
पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाउनुका साथै चोरी सम्बन्धी कसूरमा मुद्धा चलाइएको प्रहरी निरीक्षक सापकोटाले बताए ।
एटिएम मेशिनमा सामान्य क्षति भएकोे छ वीरगञ्जमा एटिएम मेशिन फोड्ने घटना पहिलो भएको प्रहरीले जनाएको छ ।
यस प्रकारको घटनाले सुरक्षा चुनौती थपिएको बैंकरहरूले बताएका छन् । रातभरि खुल्ने एटिएम मेशिनमा चोरहरूको आँखा लागेपछि वीरगञ्जका बैंकहरू चिन्तित भएका छन् ।
माछापुच्छ्रे बैंकको एटिएम सोही बैंकको भवनमा रहेको तथा त्यहाँ रातभरि निजी सुरक्षागार्ड तैनाथ रहन्छन् ।
केही दिन अघि काठमाण्डौमा पनि एटीएम मेसिन फोडेर पैसा चोरी गर्ने प्रयास गरेका २ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।





Write your Comment