साउदी अरबमा अर्धचेत अवस्थामा रहेका रामबहादुर तामाङलाई नेपाल पठाइयो

रातोघर

 २०७९ श्रावण १२, बिहिबार  मा प्रकाशित
६३२ पाठक संख्या


साउदी अरबमा अर्धचेत अवस्थामा रहेका नेपाली नागरिक राम बहादुर तामाङलाई नेपाल पठाइएको छ । रियादस्थित नेपाली दूतावासको पहलमा उनलाई नेपाल पठाइएको हो ।

गत जनवरी २०२२ मा साउदी अरबको अल कासिम क्षेत्रमा सडक दुर्घटना परी तामाङ गम्भिर घाइते भएका थिए । उनको हायलस्थित साउदी–जर्मन अस्पतालमा उपचार भइरहेको थियो ।
काभ्रे जिल्ला रोशी गाउँपलिका–४ स्थायी ठेगाना भएका तामाङलाई नेपाल एयरलाइन्सको उडानबाट नेपाल पठाइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।
‘अस्पतालमा उहाँको उपचार खर्च स्वास्थ्य वीमाले कभर गर्ने सीमा भन्दा २ लाख ५० हजार साउदी रियाल बढी भैसकेको थियो । वीमाले कभर गर्ने सीमा भन्दा माथिको उपचार खर्च तिर्न कम्पनी तयार थिएन । एकातिर बिरामीको अवस्था गम्भिर नै थियो । बिरामीको अन्य अंगहरूले राम्ररी काम गरिरहेको भएता पनि दुर्घटनाका कारण टाउकोमा लागेको गहिरो चोटले गर्दा उनमा पूर्ण होस आएको थिएन,’ दूतावासले जारी गरेको विज्ञप्तिमा तामाङका विषयमा भनिएको छ ।
उपचार बापत अस्पतालमा तिर्न बाँकी रहेको २ लाख ५० हजार साउदी रियाल अस्पतालले मिनाह गरिदिएको दूतावासले जनाएको छ ।
अस्पतालले विरामीलाई उनको परिवारको साथमा राखेर आवश्यक हेरचाह गर्दा उनीमा छिटो होस आउनसक्ने हुँदा जतिसक्दो चाँडो नेपाल लैजान सुझाव दिएपछि उनलाई नेपाल पठाइएको दूतावासले जनाएको छ ।
तामाङलाई स्ट्रेटचरमा राखेर नेपाल लैजाँदा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोरेको जानकारी दूतावासले दिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban