नौ बजेसम्म मात्र देउसीभैलो खेल्न, गाउँ जान लागेको जानकारी सामाजिक सञ्जालमा पोष्ट नगर्न प्रहरीको अनुरोध

रातोघर

 २०७९ कार्तिक ५, शनिबार  मा प्रकाशित
३२५ पाठक संख्या


तिहारको बेला राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न काठमाडौं प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मर्यादित एवं सभ्य तरिकाले राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरेको हो ।
मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थ (पटाका) सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवना हुनसक्ने व्यवस्था रहेको छ ।

मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान, धुम्रपान नगर्न, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले काठमाडौंवासीलाई आग्रह गरेको छ ।

छतमा चढेर यात्रा नगर्न, सडकको दायाँबायाँ जथाभावी पार्किङ नगर्न, ट्राफिक नियमको पालना गर्न प्रहरीले अनुरोध गरेको छ ।

यात्रा गर्ने क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, नचिनेको व्यक्तिले घरको ढोका ढकढक्याएमा नखोल्न, आफ्नो घर, छरछिमेक र टोलमा सिसी क्यामेरा जडान गर्न, लामो समय घरबाहिर जानुपरेमा विश्वासिलो छिमेकी र आफन्तलाई जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।

तिहार तथा छठ पर्वका लागि गाउँ जान लागेको तस्वीर तथा जानकारी सामाजिक सञ्जालमा पोष्ट नगर्न समेत प्रहरीले आग्रह गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban