वीरगञ्जमा फेरी ‘रात्री बजार’ लाग्दै

रातोघर

 २०८० जेष्ठ १९, शुक्रबार  मा प्रकाशित
७६६ पाठक संख्या


वीरगञ्ज । वीरगञ्जमा यही जेठ २६ र २७ गते रात्री बजार लगाउने गरि तयारी अघि बढाइएको छ । हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्री बजार सञ्चालन गर्ने पूर्वघोषित कार्यक्रम अनुरुप यस महिना पनि रात्रि बजार लगाउने तयारी अघि बढाइएको हो ।

रात्रि बजार सञ्चालनको तयारीका लागि शुक्रबार महानगरमा सरोकारवालाहरुबीच छलफल भएको छ । छलफलले यस पटक पनि आदर्शनगर क्षेत्रमा रात्री बजार प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक तयारी अघि बढाउने निर्णय गरेको छ ।

वीरगञ्जको अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले नयाँ वर्षदेखि सुरु गरिएको रात्री बजारलाई अहिले महिनाको अन्तिम शुक्रबार र शनिबार गरि २ दिन संचालन गरिँदै आएको छ ।

रात्रि बजार व्यवस्थापन समितिको शुक्रबारको बैठकले रात्रि बजार प्रभावकारी भएको भन्दै आउँदा दिनमा यसलाई अझै विस्तार गर्दै लैजाने निर्णय पनि गरेको छ ।

बैठकमा महानगर प्रमुख राजेशमान सिंहले आउँदा दिनमा घण्टाघरदेखि आदर्शनगर, घडिअर्वा लगायतका क्षेत्रलाई समेटेर रात्री बजारलाई विस्तार गर्दै लैजाने गरि आवश्यक तयारी अघि बढाउन समितिलाई आग्रह गरे ।

वीरगञ्जको बजार अवेरसम्म सञ्चालन हुने वातावरण बनाउन आफूले रात्री बजारको अवधारणा अघि बढाएको भन्दै उनले यसका लागि यहाँका उद्योगी, व्यवसायी तथा स्थानीय नै अघि सर्नु पर्ने बताए ।

प्रमुख सिंहले रात्री बजार व्यवसाय चलायमान बनाउनका लागि पहल थालिएको भन्दै यसलाई निरन्तरता दिन अब यसको नेतृत्व वीरगञ्ज उद्योग वाणिज्य संघले लिनु पर्ने पनि बताए । अहिले महिनामा २ दिन मात्रै चलिरहेको रात्रि बजारलाई आफूले हरेक दिन देख्न चाहेको भन्दै त्यस अनुरासको सुरक्षा व्यवस्था र भन्सार खुला गर्ने जिम्मेवारी लिन आफू तयार रहेको पनि उनले बताए ।

बैठकमा उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष अनिल अग्रवालले महानगरले यहाँको बजार चलायमान बनाउन गरेको प्रयास सह्रानीय रहेको भन्दै आउँदा दिनमा यसलाई सञ्चालन गरेर अघि बढ्नु पर्ने जिम्मेवारी आफूहरुको रहेको धारणा व्यक्त गरे ।

रात्रिबजारमा थरिथरिका स्टल राखिने र विशेष गरेर विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टल राखिने रात्रि बजार व्यवस्थापन समितिका सदस्य जयप्रकाश खेतानले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban