करिब ३५ अर्ब बराबरको बजेट ल्याउने मधेश प्रदेशको तयारी

रातोघर

 २०८० जेष्ठ २९, सोमबार  मा प्रकाशित
३१९ पाठक संख्या


वीरगञ्ज । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ल्याउने बजेटको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेश सरकारले बजेट ल्याउने तयारी गरेको हो ।

प्रदेश सरकार अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले सरकारले आगामी आवका लागि करिब ३५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी दिए । ‘चालु वर्षभन्दा आगामी वर्षमा बजेटको आकार घटेर आउने भएको छ’, उनले भने, ‘प्रदेश सरकारको रु २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब गरी करिब रु ३५ अर्बको बजेट ल्याउने तयारी भइरहेको छ ।’

सबै मन्त्रालयलाई पठाइएको बजेट सिलिङ र मार्गनिर्देशनको आधारमा बजेट निर्माण हुने उनको भनाइ छ । ‘अधिकांश मन्त्रालयको बजेट निर्माण अन्तिम चरणमा छ । सङ्घ सरकारले आगामी आवका लागि २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले बजेटको आकार घट्ने भएको हो’, अर्थ सचिव भट्टराईले भने ।

चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले रु ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो । गत मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभामा एक सय ८९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन संसद्मा छलफल भइ गत शुक्रबार सर्वसम्मतिले पारित भइसकेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban