विकासको नाममा विनाश निम्त्याउँदै जगदम्बा स्टिल

रातोघर

 २०८० अषाढ २८, बिहिबार  मा प्रकाशित
१३२४ पाठक संख्या


सिमरा ।

जगदम्बा पछिल्लो समय बजारमा नाम चलेको स्टिल कम्पनी हो । देशको मेरुदण्ड भन्दै जगदम्बा स्टिल कम्पनीले वर्षौंदेखि प्रचारप्रसार गर्दै आएको छ । तर, नाम चलेकै उद्योगले स्थानीय वातावरणलाई हानी नोक्सानी पुग्ने गरि प्रदुषण गर्दै आएको छ ।

मधेश प्रदेशको बारास्थित सिमरामा रहेको जगदम्बा स्टिलको सबैभन्दा ठूलो कारखानाले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गरि हानिकारक धुवाँको मुस्लो फ्याँकिरहेको छ । सरकारको मापदण्डभित्र नरही जगदम्बा स्टिलले आफ्नो उद्योग सञ्चालन गर्दै आएको पाइएको छ ।

मानवबस्तीको बीचमा यसरी उद्योग सञ्चालन गर्न नपाउने भनिए पनि स्टिल कम्पनीले अटेर गरिरहेको बताइन्छ । सरकारले दाउरा, कोइलाको प्रयोग हुने उद्योगहरु बस्तीबाट टाढा स्थापना गर्न भने पनि सम्बन्धित निकायको फितलो अनुगमनको कारण कार्यान्वयनमा जान नसकेको हो ।

यता, सम्बन्धित निकाय पनि चाल नपाएझैं बसिरहेको छ । उद्योग सञ्चालन गर्ने तर मापदण्ड पूरा नगर्नेलाई मातहतका निकायले कारबाही गर्न सकेको छैन । उद्योगले प्रदुषण गरेको भनी पटक पटक उद्योग हटाउन माग गरे पनि सुनुवाइ नभएको सो क्षेत्रका स्थानीयवासीको आरोप छ ।

‘हामीले धेरै पटक उद्योग यहाँबाट हटाउन माग गरे पनि जिल्ला प्रशासन कार्यालय नसुनेझैं गर्छ,’ एक स्थानीयवासीले अगाडि भने, ‘दिउँसो श्वासप्रश्वासमा निकै समस्या हुन्छ, बेलुकी कारखानाको आवाजले सुत्न सकिँदैन,’ उनी भन्छन् । बुझेर पनि बेवास्ता गर्नेहरुले समाजको बारेमा सोचिदिए यस्तो समस्या नआउने उनको भनाइ छ ।

कारखानाबाट निस्किएको धुवाँले बोटविरुवा, वायुमण्डल र पशुपंक्षीलाई पनि हानी पुग्न थालेको छ । कवाडी फलाम गाल्न निस्किएको धुवाँ एक हिसाबले विष पिएझैं हुन्छ । यस्तो धुवाँले अप्रत्यक्ष रुपमा मानव शरीरमा हानी पुर्याएकाले सो क्षेत्रका स्थानीयको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ । फलाम पेलेर निस्किएको धुँवाले अहिले केही प्रभाव नपरे पनि भविष्यमा निकै संकट पर्ने वातावरणविद्हरु बताउँछन् ।

नेपाल सरकारको वातावरण संशोधन ऐन २०५३ ले वातावरणलाई प्रतिकुल हुने गरी कुनै पनि उद्योग धन्दाले फोहर मैला निस्काश्न गर्न नपाउने व्यवस्था गरेको छ । ऐनले त्यस्ता उद्योगलाई ५० हजारदेखि एक लाखसम्मको जरिवाना र वैकल्पिक उपाय नअपनाएसम्म उद्योग बन्द गर्न पर्नेसम्मको प्रावधान छ तर विगतमा लागु भएको अवस्था नरहेको स्थानीय सिमराका स्थानिय व्यवसायी राजेन्द्र उप्रेती बताउछन ।

मुलुकी अपराध संहिता ऐनको दफा १११ को उपदफा २ ९ख० मा खोलानाला वा सार्वजनिक ठाउँको पानी दुषित पार्ने वा पार्न लगाउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँ वा दुवै सजायको व्यवस्था गरेको छ पिउने पानीको हकमा यो प्रावधान ३ वर्ष कैद र ३० हजार रुपैयाँ राखिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban